हट्दै मालपोतको झञ्झट र अपारदर्शिता

साधना पन्त, बागलुङ

मालपोत कार्यालय भन्दा साथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट बेहोर्नुपर्ने अड्डा मात्र होइन । कर्मचारीको मनोमानी, खुलमखुल्ला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोल मोलाई, कमिसन र दलालको बिगबिगी जस्ता कुराले मालपोत कार्यालय लामो समयदेखि सेवाग्राहीका बीचमा बदनाम छ । तर, पछिल्लो समय प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसाथ गर्न थाले पछि उल्लेख्य सुधार आएको छ । बिचौलियाको तछाडमछाड हुने र कर्मचारीको पहिलो रोजाइमा पर्ने अड्डामा पुरै नभए पनि अधिक सुधार आएको स्वयम् सेवाग्राही बताउँछन् ।

मालपोत कार्यालय बागलुङले सेवाग्राहीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अहिले सिसी क्यामेरा जडान, स्तनपान कक्ष, नगद रहित कारोबार तथा कोरोना रोकथाम मैत्री वातावरण लगायतका कार्यले सेवा लिन पुगेका नागरिकले भिन्न अनुभूति गर्छन् ।

मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीमैत्री वातावरण तयार भएको जग्गाको कारोवार गर्नका लागि जिल्ला मालपोत कार्यालय बागलुङ आउनुभएका नेपाल बङ्गलादेश बैंक बागलुङ शाखाका वरिष्ठ सहायक सुन्दु सापकोटाले बताउनुभयो । “बैंकको कामबाट कहिले जग्गा रोक्का त कहिले फुकुवा काममा हप्तै पिच्छे मालपोत कार्यालय आउने गर्दछु” सापकोटाले भन्नुभयो “अहिले मालपोतमा सेवा लिन निकै सहज भएको छ, थोरै समयमा धेरै काम गर्न सकिन्छ ।” पहिला कार्यालय प्रमुखको हस्ताक्षर लिन दुई तला माथी जानु पर्दथ्यो, कुन कोठामा के काम हुन्थ्यो भन्ने कुनै जानकारी थिएन, भीडभाड हुन्थ्यो तर अहिले निकै व्यवस्थित भएको महशुस भएको छ ।

मालपोतमा भीडभाड हुने जानकारी भएकाले विहानै बलेवा पैयुपाटाबाट ससुरा सँग बागलुङ बजार आउनुभएकी ४६ वर्षीय माया नेपाली मालपोतमा निकै छिटो काम भएकोमा दंग हुनुहुन्थ्यो । “मालपोतमा ढिलो काम हुन्छ भन्ने सुनेर १० बजेनै बलेवाबाट कार्यालय आए पनि काम समयमै सकिदाँ अन्य बजारको काम समेत गर्न भ्याए” नेपालीले भन्नुभयो “हाम्रो पहिलाको मान्यता अनुसार कार्यालय नभएको पाइयो, निकै व्यवस्थित भएका कारण काम गर्न सहज भयो ।”

अन्य सरकारी कार्यालय भन्दा बढी सफा सुग्घर, अनिवार्य माक्स स्यानिटाइजर प्रयोग गर्नुपर्ने, मुलद्वारमै हात धूने व्यवस्था रहेको सेवाग्राहीले बताएका छन् । हिजोको दिनमा सेवाग्राहीलाई कोठै पिच्छे कागज लिएर हिँड्नु पर्र्दथ्यो अहिले सबै कोठा हटाएर एउटै हलमा काम हुने व्यवस्था गर्दा बढी पारदर्शी भएको छ । कोठै पिच्छे हिँड्नुपर्ने समस्याले हैरान पर्ने गरेका सेवाग्राहीलाई कार्यालय व्यवस्थापन सँगै सहज गराउने प्रयास भएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।

जग्गावाला भन्दा तेस्रो व्यक्तिको प्रयोगले समस्या हुँदै आए पनि अहिले सहज भएको शर्माको भनाई छ । कार्यलयको भुई तलामा रहेका आठ वटा कोठालाई भत्काएर हल बनाई आल्मुनियम र सिसाको काउन्टर बनाई सेवाग्राही मात्र सेवा लिनका लागि भित्र जाने र पारदर्शी रुपमा सेवा दिने लिने वातावरण बनाएको शर्माले जानकारी दिनुभयो ।

कार्यलय भित्र पस्न साथ कुन मानिसले कस्तो व्यवहार गरेको छ भन्नेकुरा सिसी क्यामेराबाटै देखिन्छ । नगद बैंकमा जम्मा गरेर भौचर मात्रै बुझाउनु पर्दा घुस खाने खुवाउने प्रवृत्तिको समेत अन्त्य भएको कार्यालय प्रमुख शर्मा बताउँनुहुन्छ ।

महिलाहरुले बच्चा लिएर आउने र दूध खुवाउन समस्या भएका कारण स्तनपान कक्ष निर्माण, कार्यालय परिसरमै प्रभू बैंकको काउण्टर स्थापना गरिएको छ । कार्यालयमा शुद्ध खानेपानीको समेत व्यवस्था गरिएको छ । कोरोना महामारीले गर्दा धेरै भीडभाड गर्न नपाइने भएकाले अनावश्यक मानिसलाई प्रवेशमा रोक, माक्स तथा सेनिटाइजरको प्रयोग, अनिवार्य हात धोएर मात्र प्रवेश गर्न दिने र सामाजिक दुरी कायम गराउदै आएको छ । अब कार्यालयमा पुराना लेखक, पुराना दर्ता, भूमी सुधारका पुराना फारामहरुलाई आगामी दिनमा व्यवस्थापन गर्ने र आवश्यक परेको समयमा तुरुन्तै भेटाउन सकिने गराउने मालापोत कार्यालयको योजना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *