अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला: गलकोटवासीको अभुतपूर्व कदम

सम्पादकीय
बागलुङ जिल्ला नेपाल भित्रको नेपाल आकृतिमा छ । देशको नक्सा भित्र उस्तै देखिने बागलुङको पहिचान नक्सामा जति पृथक छ । तर, जिल्ला भित्रका सम्भावना, अवसर र पहिचानहरुमा भने उल्लेख्य काम हुन सकेको छैन । बर्षौदेखि हामी कालिका भगवति मन्दिरको नाममा पर्यटनको अपेक्षा गरिरह्यौ । यसकै नाम जपिरह्यौ । त्यस बाहेक जिल्लाको सुदुरमा रहेको ढोरपाटनको नारा घन्काइरह्यौ । पुर्वाधार विकासमा भने उतिधेरै चासो र ध्यान दिन सकेनौ । भलै ढिलै भए पनि बागलुङ बजारको समिपमा सर्वसिद्धिधाम पञ्चकोटको परिकल्पना गरियो । जहाँ अहिले जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटक र पाहुनाहरुलाई स्वागत सत्कार सहित घुमाउने एक आकर्षक गन्तव्य पाएका छौ । त्यस बाहेक हालै मात्र कुँडुले फेदीमा विश्वमै दुर्लभ शालिग्रामहरुको संग्राहलय निर्माण गरियो । यो जिल्ला मात्रै होइन, यथोचित प्रचार प्रसार र प्रर्वद्धन गर्न सकेमा देशकै आकर्षक गन्तव्य बन्ने मार्गप्रशस्त गरेको छ ।

अरु सम्भावना, पहिचान र गन्तव्य कहाँ छ ? निश्चय पनि यि प्रश्न र सवालले सरोकारवालालाई सोचनीय बनाउनुपर्छ । बिडम्बना ! आजको दिन सम्म यस्ता प्रश्न र बिषयहरुलाई हाम्रा राजनीतिज्ञ, मन्त्री, सांसद, जनप्रतिनिधि, कर्मचारी, अरु सरोकारवाला र सर्वसाधारणलाई कति सोचनीय र चिन्तित तुल्यायो ? त्यसको फरक बहस हुन सक्छ । तर, अब पनि हामीले जिल्लामा नयाँ नयाँ पहिचान, सम्भावना र गन्तव्यहरु खोजी गर्न सकेनौ, त्यसको पूर्वाधार विकास, प्रर्वद्धन र प्रचार प्रसार गर्न सकेनौ भने निश्चित रुपमा हामी अरु जिल्ला र स्थानहरु भन्दा पछाडी पर्नेछौ । यसका लागि जिल्लाका १० वटै स्थानीय तहमा सम्भाव्य कदम, प्रयत्न र अभियानहरुका लागि ठोस कदम चालिनु आवश्यक छ । त्यो बिशेषतः तीन तहको सरकारकै तहबाट नेतृत्व र पहलकदमी लिनु आवश्यक छ । तर, हामीले सरकारको मुख ताकेर मात्र बस्ने खराब आदत बोकिरहनु हुँदैन । जनस्तरबाट पनि सम्भाव्य पहल र ठोस कदमहरु चाल्नुपर्छ । अहिले बागलुङको गलकोट हरिचौर माथिको टेउवा गाउँमा जुन सोच र योजनाका साथ अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरिएको छ । यो गलकोटको भविष्यका लागि मात्र होइन, सिंगो जिल्ला, गण्डकी प्रदेश र देशकै लागि एक ऐतिहासिक अभुतपूर्व कदम हो ।

अहिले जुन कार्यशाला दुर्गम गाउँमा गर्ने आँट र साहस गरिदैछ । यो आफैमा सामान्य सोच र साहसबाट सम्भव छैन र थिएन । नयाँ संघीय अभ्यासमा गए पनि केन्द्रिकृत मानसिकको सोच व्याप्त रहेका बेला दुर्गममा गाउँमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सोँच, साहस र तत्परता देखियो । यो धेरै जिल्लाका लागि प्रेरणादायक बिषय बन्नेछ । कार्यशालाको अर्को महत्वपूर्ण पाटो अहिले ११ देशका १५ मूर्तिकारले जे जस्ता मानव सभ्यता, भेषभुषाका मूर्तिहरु बनाउनेछन् । त्यो कतै नलगेर खुल्ला संग्राहलय बनाएर कार्यक्रमस्थलमै प्रतिष्ठापन गरिनेछ । यो राखिसके पछि बन्ने खुल्ला संग्राहलय, यस परिसरमा बनाइने अन्य पर्यटन तथा कलामैत्री पूर्वाधारका कारण कलापारखीदेखि अनुसन्धाता, पर्यटकहरुलाई स्वतस्फुर्त रुपमा आकर्षित गर्नेछ । अहिलेको कार्यशाला १५ दिन पछि सकिने मात्र छैन । यसले सुन्दर शुरुवात गर्ने गरि गलकोटलाई पर्यटनको हब बनाउने रेखांकन गर्नेछ । यो सत्प्रयासका लागि यसका अभियन्ता सबैलाई शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *