बचन दिएकाले सहयोग नगर्दा ७० मजदुरले पारिश्रमिक पाएनन्

डम्मर बुढा मगर, बागलुङ

पाँच महिनादेखि पारिश्रमिक नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् ।

भूजीखोला पाँचौ लघुजल विद्युत आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि पारिश्रमिक नपाएपछि समस्यामा परेका हुन् ।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत आयोजनाको नहर र विद्युत गृहमा ठूलो क्षति पु¥याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाको ७० मजदुरले २७ दिन लगाएर काम गरि पुन संचालनमा ल्याएका थिए ।

काम सकिएर विद्युत सुचारु भएको पाँच महिना पुगे पनि आफुले गरेको मजदुरीको ज्याला अहिले सम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताउनुभयो । विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पुरा पारिश्रमिक नपाएको गुनासो गर्नुभयो ।

‘बाढीले विजुलीको कुलो र पावर हाउसमा धेरै ठूलो क्षति गरेको थियो, गाउँकै युवाहरु मिलेर करिब एक महिना काम ग¥यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिले सम्म पनि पुरा पैसा पाउन सकेको छैनौँ,’ विकले भन्नुभयो ‘काम गरेको पैसाा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।’ मजदुरी गरेरै ५ जनाको परिवार पाल्दै आएका विकले काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्नुहुन्छ ।

दिनको एक हजार रुपैयाँका दरले पारिश्रमिक पाउने गरि सम्झौता गरेर महिना दिन काम गरेको भएपनि जम्मा ९ हजार रुपैयाँ मात्रै पाएको उहाँको भनाई छ ।‘ काम गरेको पैसा आएपछि तिरौला भनेर छिमेकी सँग ऋण गरेको थिए,× विकले भन्नुभयो ‘पटक–पटक माग्न जाँदा पनि हुन्छ हुन्छ भनेर टार्नुभएको छ आफैले काम गरेको ज्याला पाउन पनि निकै सास्ती भयो ।’

काम गरेको पारिश्रमिक नपाएपछि विद्युत गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत गृहमै तालाबन्दी समेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौ भन्ने प्रतिवद्धता पछि एक दिनमै ताला खोलेको उनिहरुको भनाई छ ।

बाढी पसेर विद्युत गृहमा क्षती पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दा सम्म आफुहरुले खटेर काम गरेको भएपनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ । बाढीले विद्युत गृहमा मात्र होइन हाम्रो घर र सम्पत्तीमा पनि क्षती पु¥याएको थियो, उहाँले भन्नुभयो २÷४ पैसा भयो भने परिवार पाल्न सजिलो होला भनेर महिनौ दिन काम गरियो अहिले पैसा दिन आनकानी गरेका छन् । विद्युत गृहको नहर देखि भौतिक संरचनामा पुगेको क्षतीलाई सामान्य बनाउँन २७ दिन काम गरेको थिए उहाँले भन्नुभयो अहिले सम्म किस्ता किस्ता गरेर जम्मा ९ हजार रुपैयाँ पाएको छु ।

भूजीखोला पाँचौँ लघु जलविद्युत आयोजनाका अध्यक्ष पदम घर्ती मगरले ऋण धन गरेर बाढीले क्षति पु¥याएको विद्युत संचालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताउनुहुन्छ ।

उहाँले अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरुले आश्वासन मात्रै दिएको बताउनुहुन्छ ।

‘अहिलेसम्म कुनै पनि सरकारी निकायले हामीलाई सहयोग गर्नु भएको छैन, जो नेता आए पनि आश्वासन मात्रै दिएर जानुभयो, केही सहयोग मिलेकै छैन,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘सहयोग गर्छौँ भनेकाहरुले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेका हौं ।’

उहाँले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले पाँच लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले २२ लाख सहयोग गर्ने भने पनि त्यो सहयोग समेत अझैसम्म नपाएको उहाँको दुखेसो छ ।

‘हाम्रो मेयर सापले सुरुमा २ लाख र पछि ३ लाख दिन्छु भन्नुभएको थियो, अहिले प्रदेशबाट आउँछ भन्दै उम्किनु भयो,’ अध्यक्ष घर्तीले भन्नुहुन्छ प्रदेश सरकारबाट २२ सहयोग गर्ने भन्ने कुरो थियो, त्यो पनि आउँछ कि आउँदैन अत्तोपत्तो छैन ।

बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनिहरुले पैसा पैसा भनेर अत्याएका छन् उहाँले भन्नुभयो ऋण गरेर थोरै थोरै दिएका थियौ अहिले त साहु पनि माग्न आउन थालिसके ।
उहाँले विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट ४ लाख ५० हजार सहयोग भएको भन्दै अन्य सबै आफूहरुले व्यवस्थापन गरेको उहाँको भनाई छ । बाढीले उक्त आयोजनाको डेढ सय मिटर कुलो बगाएको थियो भने विद्युत गृहको जेनेरेटर, ट्रवाइन लगायत मेशेनरी सामानहरुमा क्षति पु¥याएको थियो ।

बाढीले क्षति पु¥याएको विद्युत मर्मत गर्नका लागि २२ लाख बढी खर्च भएको अध्यक्ष घर्ती मगरको भनाई छ । यस आयोजनाबाट ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का आठ सय घर धुरी जनाता लाभाम्बित छन् ।

बाढीले क्षति पु¥याएको विद्युत आयोजना ४१ दिनपछि संचालनमा आएको थियो । अध्यक्ष घर्ती मगरले १२ लाख बढी मजदुरको ज्याला र अन्य सामान खरिदमा खर्च भएको बताउनुभयो । मजदुरहरुलाई ६ लाख रुपैयाँ भुक्तानी गर्न र अझै १२ लाख ऋण रहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्