आदर्श अनलाइन, म्याग्दी
२० वर्ष अगाडी सम्म पनि निकै महत्व हुने हुलाक र हुलाकीको अहिले महत्व आधुनिक प्रविधिको युगले सकेको भए पनि हुलाकले आफ्नो जिम्मेवारी र दायित्वमा भने कुनै कसर बाँकी राखेको छैन । हुलाक र हुलाकीको पनि काम छ र? भनेर प्रश्न गर्ने समाजका लागि भने अनौठो लाग्न सक्ने सम्मको काम अहिले हुलाकले गर्दै आएको छ । केही समय अगाडी हिमाली जिल्ला म्याग्दीको हुलाक कार्यालयबाट एक जना सेवाग्राहीले बागलुङ गलकोटमा रहेका आफन्तलाई कोसेलीको रूपमा गुन्द्रुक पठाउनुभयो । त्यस्तै अर्का सेवाग्राहीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेका आफन्तका लागि हुलाकबाटै मोबाइल फोन पठाइदिनुभयो ।
खबरको सबै भन्दा महत्वपूर्ण माध्यमका रुपमा रहेको हुलाक अहिले खबरका लागि अन्य सामाजिक सञ्जाल तथा फोनको प्रयोग बढ्न थालेपछि पार्सल तथा अन्य सामग्रीहरु सुपथ मुल्यमा ढुवानीको काम गर्न थालेको छ । पछिल्लो समयमा दैनिक उपभोग्य सामग्रीका साथै विद्युतीय सामग्रीहरु पनि हुलाक मार्फत नै पठाउने गरिन्छ र त्यसलाई विश्वासीलो तबरले हुलाकले पु¥याउने गरेको छ । हुलाकले रूपान्तरित सेवा अन्तर्गत ई–कमर्सको अवधारणालाई पनि अंगिकार गरेको छ भने राज्यले गैरकानुनी घोषित गरेका बाहेक अन्य सबै प्रकारको सामग्रीहरु सम्बन्धीत व्यक्ति समक्ष पु¥याउने काम हुलाकले गर्दै आएको छ । अचेल चिठिपत्र, सरकारी महत्वपूर्ण कागजातका साथै खाद्यान्न सामग्री लत्ताकपडा, मोबाइल, औषधिलगायत मालसामान समेत पठाउने गरेको छ ।
हुलाकको सेवा विगतमा भन्दा फेरीएको जिल्ला हुलाक कार्यालय म्याग्दीका निमित्त प्रमुख रमेश अधिकारीको भनाई छ । उहाँले भन्नुभयो–‘किचनदेखि व्यक्तिगत प्रयोग हुने सामान पठाउने गरिन्छ, अहिले चिठीपत्र मात्रै होइन सामान ढुवानीको माध्यम पनि हुलाक बनेको छ ।’ विगतमा हुलाकमा व्यक्तिगत चिठीबाहेक सरकारी चिठीपत्र, अदालती कागजपत्र तथा विदेश जाने युवाहरूको कागजपत्रहरूको ओसारपसार धेरै हुने भए पनि अहिले सेवा विस्तार भएपछि निजी कुरियर सेवा प्रयोग गर्ने सर्वसाधारणले हुलाकबाटै सेवा लिने गरेका उहाँले बताउनुभयो ।
निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार सस्तो खर्चमा छिटो पुग्ने, हराउने सम्भावना न्यून हुने भएकाले व्यक्तिगत चिठीभन्दा पनि सामान ओसारपसार तथा विदेश जानका लागि द्रुत डाँक सेवा (इएमएस सेवा)का लागि मानिसले हुलाकको पछिल्लो समय धेरै प्रयोग गर्ने गरेका छन् ।
हुलाकबाट सामान पठाउँदा र मगाउँदा पनि निजी कुरियरभन्दा धेरै सस्तो र सहज हुने भएकाले एकपटक सेवा लिएकाहरुले पटकपटक सेवा लिने उहाँको भनाई थियो । नेपाल सरकारले हुलाकको संरचना परिवर्तन गर्ने निर्णयको देशभरमै पहिलो पटक म्याग्दीमा कार्यान्वयन भएको थियो । म्याग्दीमा बेनी नगरपालिकाबाहेक पाँच वटौ स्थानियतहमा २४ घण्टामै एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गरिएको प्रमुख अधिकारीको भनाइ छ । अन्य जिल्लामा नयाँ संरचना लागु गर्न निकै सकस भइरहेको छ भने म्याग्दीमा स्थानीय तहले नै सघाएपछि सहज भएको थियो ।
म्याग्दीबाट नेपालका जुनकुनै ठाउँमा पनि नजी कुरियर कम्पनीले भन्दा तीनगुणा सस्तोमा दुईतिन दिनभित्र सामान पठाउन सकिने हुलाक कार्यालयले जनाएको छ । त्यस्तै विदेशबाट पठाएको समान पनि दुई साताभित्र नै घरदैलोमै पुग्ने र सामान कहाँ पुगेको छ भनेर ट्राकिङसमेत गर्न सकिने भएकाले अहिले हुलाकबाटै सेवा लिनेको संख्या बढ्दै जान थालेको छ ।
गत वर्ष म्याग्दीबाट चिठीपत्रसहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएको हुलाक कार्यालय म्याग्दीका सूचना अधिकारी सम्झना भण्डारीको भनाइ छ । यसै साता १५०औं विश्व हुलाक दिवस मनाउने क्रममा व्यक्तिगत, सरकारी चिठी आदानप्रदान मात्रै नभई थपिएका सेवाबारेसमेत प्रचारप्रसार गरिने सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय तह, संघसंस्थासहित व्यक्तिगत सक्रियता बढाउँदै आधुनिक सेवाबारे जानकारी मात्रै पाए पनि सेवा लिनेको संख्या अहिलेको तुलनामा दोब्बर बढी हुने अपेक्षा गर्न सकिने बताइएको छ ।