अमृत बास्कुने, बागलुङ
कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड म्याग्दी बचत अपचलनको आरोप लागेका सञ्चालकहरु मध्ये ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बेनी नगरपालिका–१ का राजकुमार थापासहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । संस्थाका पूर्व उपाध्यक्ष थापा, पूर्व अध्यक्ष मनप्रसाद थजाली, पूर्व प्रबन्धक रूद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा सुपरीवेक्षण समितिका पूर्व सदस्य लोकेस भन्ने लोकबहादुर पुनलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सहकारी रजिष्ट्रार कार्यालय पोखराको पत्र अनुसार गत माघ २० गते पाँच जना र फागुन ७ गते १ जनालाई गिरफ्तार गरेको थियो । प्रहरीले सर्वसाधारण बचतकर्तालाई आह्वान गरेको निवेदन अनुसार ६३६ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कुल एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपैयाँ बिगो दावी गर्दै सरकारी वकिल कार्यालय म्याग्दीले फागुन १५ गते जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो । सहकारीका पूर्व अध्यक्ष थमबहादुर गर्बुजा बिरामी भएर उपचाररत रहेकोले निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयले गिरफ्तार भएका ६ सहित २५ जना बिरुद्ध अदालतमा अभियोजन दर्ता गरेको थियो । फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएमा वा म्याद नाघेपछि नियम अनुसार पेश गर्न आदालतले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालयले शिल गरेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको श्रेस्तेदार रेग्मीले बताउनुभयो ।
मंगला गाउँपालिका–३ का निर्वाचित वडा अध्यक्ष समेत रहेका सहकारीका अध्यक्ष यामबहादुर रोका सहित १९ जना फरार रहेको प्रहरीले जनाएको छ । वडा सदस्यलाई कार्यवाहक दिएर गत माघ २० गते देखि सम्पर्क विहिन भएको मंगला गाउँपालिकाले जनाएको छ ।
कुमारी सहकारी प्रकरण : आरोपितहरु पुर्पक्षका लागि थुनामा
