आदर्श सञ्चार, बागलुङ
चारतारे युवा क्लव, सिवाईसी नेपालले माता पितासंग सिवाईसी कार्यक्रमको आयोजना गरि ६२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
७० वर्ष भन्दा माथि उमेर पुगेका जेष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदानको कदर गर्दै सामाजिक सद्भाव र पारिवारिक एकता कायम गर्ने तथा उनीहरूलाई सम्मान, सुरक्षा र सहयोग प्रदान गर्दै आत्मसम्मानित जीवनयापनको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई रुद्राक्षको माला, सम्मान–पत्र, थर्मस र लाईट प्रदान गरि सम्मान गरिएको ।
चारतारे युवा क्लव, सिवाईसी नेपालका आजिवन, विशिष्ठ सदस्य, संस्थाले सञ्चालन गरिरहेको बातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम अन्तर्गतका जेष्ठ सदस्य र सिवाईसी साकोस अन्तर्गतका ७० वर्षदेखि ९१ वर्षसम्मका जेष्ठ नागरिकहरुको उपस्थिती रहेको कार्यक्रममा उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जेष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदान समाजका लागि अनमोल सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको सम्मान र सुरक्षा सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले परिवार तथा समाजले जेष्ठ नागरिकहरूप्रति आदरभाव राख्नुपर्ने र उनीहरूको सुखी तथा आत्मसम्मानित जीवनयापनका लागि आवश्यक सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि सुवेदीले जिल्लामा सिवाईसी नेपालले सधैँ फरक खालका र नविनतम् कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सिवाईसीले सामुदायिक विकास, वित्तीय सशक्तिकरण र सामाजिक सेवाका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । साथै, उहाँले जेष्ठ नागरिकहरूका लागि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक तथा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, सामाजिक विकास कार्यालयका प्रमुख हिमाल घर्ति मगर, जेष्ठ नागरिकहरुको तर्फबाट समाजसेवी हरिप्रसाद श्रेष्ठ, डा. तरुण पौडेल, मानवसेवा आश्रमका अभिभावक निर्मलकुमार श्रेष्ठ, सिवाईसी साकोसका सल्लाहाकार बद्रीप्रसाद पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा मानवसेवा आश्रम बागलुङद्वारा सञ्चालीत अक्षयकोषमा सिवाईसी साकोसका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको तर्फबाट वार्षिक रुपमा प्रदान गर्ने संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत रु. ५० हजार कोषलाई प्रदान गरिएको थियो । साथै सोही अवसरमा बागलुङ नगरपालिका वडा नं. ६ स्थित २८ वर्षे किरण वि.क.को दुवै मृगौला फेल भई उपचाररत रहेकोमा मृगौला प्रत्यारोपणका लागि सिवाईसी नेपाल र सिवाईसी साकोसको तर्फबाट रु. ५० हजार उपचार सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रमका क्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जेष्ठ नागरिकहरू समाजका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको अनुभव, ज्ञान र योगदानको सम्मान गर्नुपर्ने बताउनु भएको थियो। उहाँले सिवाईसी नेपालले सधैं सामाजिक उत्तरदायित्व वहन गर्दै जेष्ठ नागरिकको सम्मान, सशक्तिकरण र सुरक्षाका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साथै, उहाँले जेष्ठ नागरिकहरूको सम्मान र हेरचाह परिवार, समाज तथा संस्थाहरूको सामूहिक जिम्मेवारी भएको भन्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विश्वास अभियानका कार्यकारी निर्देशक प्रशिक्षक हिम्मतसिंह लेकालीले प्रशिक्षण गर्नुभएको थियो ।