आदर्श सञ्चार, बागलुङ
काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजित एक दिने सहकारी शिक्षा तालिम शनिवार सम्पन्न भएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले संघमा आवद्ध संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालन गरेको सहकारी शिक्षा कार्यक्रम अन्तरगत मिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आवद्ध कृषक शेयर सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।
पछिल्लो समय सहकारीमा देखिएका समस्याको पहिचान र समाधानमा सदस्यको भूमिका, दुग्ध उत्पादनका क्षेत्रमा शेयर सदस्य र संस्थाको भूमिका, संघको वर्तमान अवस्था, आगामी योजना लगायतका विषयमा कार्यक्रममा सहजीकरण गरिएको थियो ।
प्रशिक्षक राम बहादुर जिसीले दुग्ध उत्पादनका क्षेत्रमा बिहुका कृषकहरुले लामो समयदेखि गर्दै आएको काम अरुका लागि अनुशरण योग्य भएको बताउनुभयो । बजारमा दुध पठाएर गाउँमा पैसा भित्र्याउने अगुवा कृषकहरुले आत्मग्लानी गर्ने, हिनतावोध हुने होइन, जिसीले भन्नुभयो,–बच्चादेखि बृद्धसम्मका लागि अति आवश्यक दुध उत्पादन गर्ने कृषकहरुले उच्च मनोबलका साथ उत्पादन क्षेत्रमा सक्रिय भई दुधको गुणस्तर बढाउन ध्यान दिनु पर्दछ ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले साढे २ दशकदेखि सहकारीमार्फत बागलुङका १५ वटा सहकारी संस्थाका १५ सय भन्दा बढी कृषकहरुसंग नियमित दुधको कारोबार गर्दै आएको संघलाई थप प्रभावकारी बनाउने विषयमा शेयर सदस्य तथा सरोकारवालाहरुको थप साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले दुधको गुणस्तर बढाउन, पशुधन विमा लगायत कृषकहरुका समस्याको पहिचान गरी समाधान गर्न संस्थाको पहलकदमी आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम मिलीजुली दुग्ध उत्पादक सहकारी संस्था बिहुका अध्यक्ष चन्द्रदत्त कंडेलको अध्यक्षता, शेयर सदस्य श्यामलाल कंडेलको स्वागत र कोषाध्यक्ष मणिभद्र कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।