आदर्श सञ्चार, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले ११५ औं अन्तराष्ट्रिय महिला दिवस रचनात्मक कार्यक्रम गरी मनाएको छ । काठेखोला गाउँपालिकाको आयोजनामा अन्तरक्रिर्या, प्रश्नउत्तर तथा प्रोत्साहन र सम्मान लगायतका कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा अधिवक्ता ममतादेवि शर्माले महिला र बालबालिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथी न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कँडेल तथा प्रवक्ता टिका संगम बिकले टिप्पणी गर्नुभएको थियो । महिलाको विषयमा गरिएको खुल्ला प्रश्न उत्तर प्रतियोगितामा उत्कृष्ट १० जनालाई पुरस्कार दिइएको थियो । यस्तै ८ वटा वडाका ८ श्रमिक, विपन्न तथा एकल महिलालाई सम्मान तथा प्रोत्साहन गरिएको थियो । यस्तै ८ वटै वडाका ८ जना बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले महिलालाई आर्थिक शसक्तीकरणमा काठेखोला गाउँपालिकाले सघाएको बताउनुभयो । उहाँले महिलाको आयआर्जन बढाउन उद्यमसंग जोड्ने कार्यक्रम समेत ल्याउने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, वडा नम्बर १ का वडा अध्यक्ष खड्क थापा, लेखानीका पूर्व वडाअध्यक्ष तथा महिला नेतृ चित्रा श्रीस, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु), पालिकास्तरीय महिला समितिका सल्लाहकार कमला थापाले बोल्नुभएको थियो ।
कार्यक्रम पालिकास्तरीय महिला समन्वय समितिको संयोजक सुन्तली बिकको अध्यक्षता, महिला समितिका सदस्य रिता खत्री कार्कीको स्वागत तथा महिला तथा बालबालिका शाखा प्रमुख रश्मी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।