कुँडुलेमा शालग्राम महोत्सव शुरु

आदर्श सञ्चार, बागलुङ
बागलुङको प्रसिद्ध शालग्राम संग्रहालयमा शालग्राम महोत्सव शुरु भएको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा श्री रंगवैकटेश्वर मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव आयोजना गरिएको छ ।

मन्दिरको ३८ औ व्रम्होत्सवको अवसर पारेर यही बैशाख १७ गतेदेखी २१ गतेसम्म सञ्चालन हुने गरी महोत्सव शुरु भएको छ । शालग्रामको संरक्षणका लागि महोत्सव आयोजना गरिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै गर्दै गण्डकी प्रदेश मन्त्री पाठकले धर्म संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

दिनहुँको कालिगण्डकी दोहनले शालग्राम शिला लोप हुने खतरा बढेको चर्चा गर्दै शालग्राम संरक्षण गरी जिल्लालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

महोत्सव अन्तर्गत दैनिक पाठ पारायण, रामायण प्रवचन, रामायण वाचन, शालग्रामको महत्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनहरूबाट प्रवचन लगायतका कार्यक्रम रहेको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

उहाँका अनुसार शालग्राम शिला र शालग्राम पाईने एकमात्र नदी कालिगण्डकीको महत्वबारे पनि चर्चा हुने छ । महोत्सव अवधिभर भारतको अयोध्यादेखि आउनुभएका श्री १ हजार ८ स्वामी बालकृष्णाचार्य लगायतले रामायण प्रवचन गर्नुहुने छ ।

यो पनि पढ्नुहोस्