खेमराज गौतम, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत ७५ जनाले सय दिनको रोजगारी पाएका छन् । उनिहरुले वडा कार्यालयको साझेदारी बजेटमाा सडक स्तरोन्नति गरेका छन् । उक्त कार्यक्रमलाई वडाले साझेदारीमा मिर्नाण सामाग्री खरिद गर्दा सडक स्तरोन्नती प्रभावकारी रुपमा भएको हो ।
चालु आर्थिक वर्षमा ८ ओटा सडक स्तरोन्नती तथा पदमार्ग निर्माण योजना सम्पन्न भइसकेको अझै ८ ओटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
जसमध्ये भिमापोखरा, बिहुँ, लेखानी, तंग्राम र पालामा वडाकार्यालयको बजेट समेत साझेदाी गरी सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण गरिएको छ ।
काठेखोला गाउँपालिकाका पाँच वटा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत आउने ज्यालामा साझेदार गरी नमूना रुपमा सडक ढलान समेत गरिएको छ ।
काठेखोला गाउँपालिका–२ भिमापोखरामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसंग साझेदारी गरी वडाले मात्रै रु.२२ लाख खर्च गरेर सडक स्तरोन्नति गरिएको वडा अध्यक्ष विद्यापती शर्माले जानकारी दिनुभयो ।
वडाकार्यालयमा सुचिकृत १४६ जनामध्येलाई पहिलो चरणमा ९ जनालाई रोजगारी प्रदान गरिएकोमा वडाकार्यालयले साझेदारीमा थप मजदुर तथा सामाग्री खरिद गरेर तीन वटा सडक स्तरोन्नति गरिएको शर्माले बतानुभयो । पधेरी–गैराथोक–चिप्लेभिर सडकमा ५०० मिटर सडक सोलिङ, तल्लोभुडिखोला हरिको घर सम्मको ११४ मिटर सडक ढलान तथा बायललाखुरी डाढाघर–डढेलाखोला सडकको १०४ मिटर सडक वडा कार्यालयको रु.२२ लाख लागत र प्रधामन्त्री स्वरोजगार कार्यक्रम मार्फत वडामा आएको रु.६ लाख २६ हजारमा सडक स्तरोन्नति गरिएको शर्माले जानकारी दिनुभयो ।
“गाउँको मुख्य विकास भनेको सडक रहेछ, सडकका अफ्ठारा घुम्ती ढलान तथा उकालो सडकमा सोलिङ गर्दा यात्रालाई सहयोग पु¥याउने भएकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रम मार्फत प्राप्त रकममा वडाले साझेदारी गर्दै तीन ग्रामिण साना सडक स्तरोन्नती तथा ढलान गरिएको छ” शर्माले भन्नुभयो “दक्ष कामदार, ढुङ्गा, सिमेन्ट, बालुवा र रड लगायतका सामाग्री वडाको रु.२२ लाख रकमबाट खरिद गरेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फतको बजेटबाट रोजगारी प्रदान गरी सडक स्तरोन्नति गरिएको छ ।”
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारी पाइएको भिमापोखराका स्थानीय खडक बहादुर परियारले खुसी व्यक्त गर्नुभयो । उहाँले आफू २० दिनदेखि सडक स्तरोन्नतीका लागि ढुङ्गा सोलिङ गर्ने कार्यमा खटिएको बताउनुभयो । यस्तै काठखोला गाउँपालिका–८ लेखानीमा समेत वडा कार्यालयको साझेदारीमा प्रधामन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बनेको छ । लेखानीमा छ वटा योजना सम्झौता गरी अहिले धमाधम पदमार्ग निर्माण भइरहेको बताउनुभयो ।
यस्तै रेशमा घरबासबाट भ्यूटावर पुग्ने पदमार्ग, बिहुँमा २०० मिटर सडक ढलान गरिएको हो । यस्तै पालामा पदमार्ग र तंग्राममा सडक सोलिङको कार्य वडाको साझेदारीमा गरिएको र अन्य वडामा भने स्वरोजगारबाट मात्रै सडक स्तरोन्नती र पदमार्ग निर्माण गरिएको काठेखोला गाउँपालिकाका रोजगार संयोजक जनक पौडेलले जानकारी दिनुभयो ।
यस्तै काठेखोला गाउँपालिका–५ मा वडाको साझेदारीमा २०० मिटर सडक ढलान गरिएको छ । रेशमा घरबासबाट भ्यूपोइन्ट पुग्ने पदमार्ग निर्माण गरिएको, धम्जामा सडक स्तरोन्नती गरिएको काठेखोला गाउँपालिका–६ मा पदमार्ग बनाइएको छ । शर्माले गाउँपालिका भर ७५ जनालाई यस वर्ष १०० दिन रोजगारी दिनका लागि रु. ५२ लाख बजेट आएकोमा ८ ओटा योजना सम्पन्न भएर रु.३३ लाख ज्याला भुक्तानी भइसकेको पौडेलले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन वडाले नै साझेदारीमा सामाग्री खरिद गरेर सडक स्तरोन्नती तथा पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । थापाका अनुसार ज्यालाका लागि मात्रै आएको रकममा वडा कार्यालयले निर्माण सामाग्री र दक्ष कामदार थप्दा बजेटको कार्यान्वयन प्रभावकारी बनेको बताउनुभयो ।