म्याग्दी क्याम्पसमा एआाइ सम्बन्धी सेमिनार

आदर्श सञ्चार, म्याग्दी
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)गण्डकी प्रदेशको आयोजना तथा म्याग्दी शाखाको सहजीकरणमा बिहीबार आर्टिफिसियल इन्टिलिजेन्ट(एआइ) सम्बन्धी सेमिनार सम्पन्न भएको छ ।

क्यानको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा भएको सेमिनार तथा गोष्ठीमा क्याम्पसका विद्यार्थीका साथै अन्यको समेत सहभागिता रहेको थियो ।

‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसर पारेर कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा पछिल्लो आर्टिफिसियल इन्टिलिजेन्ट (एआई)को प्रयोग, यसले दिने विभिन्न सूचना र विषयहरुको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको क्यान गण्डकीका उपाध्यक्ष बामदेव रिजालले बताउनुभयो ।

क्यान महासंघ नेपालका केन्द्रीय सदस्य चिन्तामणि बाँस्तोलाले धेरै प्रयोग भैरहेको एआई, साईबर सुरक्षा र एआई अन्तर्गतका विभिन्न टुलसको सन्दर्भमा देशका विभिन्न जिल्लाहरुमा कार्यक्रम सञ्चालन गर्ने गरिएको बताउनुभयो । एआईको प्रयोगले काम छिटो, सहज र प्रभावकारी सम्पन्न गर्न सहयोग पुग्ने भए पनि यसको विश्वसनीयताको विषयमा सबैले बुझ्न आवश्यक रहेकोले एआईको प्रयोग सम्बन्धी नीति नियमको बारेमा बुझाउनुपर्ने बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर मनोज शाक्यले एआईको प्रयोग मोबाइललगायत इलेक्ट्रोनिक सामानहरु तथा सामाजिक सञ्जालहरुमा भैरहेको जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले सूचना र प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि क्याम्पसमा शिक्षा सङ्काय अन्तर्गत बिआईसिटीको कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

क्यान गण्डकी प्रदेशका अध्यक्ष गुणनीधि पाण्डेले महासंघमार्फत हरेक वर्ष आईसिटी डेको अवसर पारेर केन्द्र, प्रदेश र जिल्लाहरुमा सूचना, प्रविधि सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो । कार्यक्रममा क्यान कास्की शाखाका कार्यसमिति सदस्य दिपकराज गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी बहुमुखी क्याम्पसको आईसिटी क्लब अध्यक्ष शेरबहादुर सुनारले च्याट जिपिटी प्रयोग बारेको अनुभव सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्