आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेशमा सहकारी सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदेशस्तरीय एक दिवसीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको गोष्ठीको उद्घाटन गर्दै पूर्वमन्त्री एवं महासंघका सल्लाहकार खगराज अधिकारीले भूकम्प र कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा अवरोध आउदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताउनु भएको थियो ।
असहज परिस्थितिलाई आधार बनाएर समग्र सहकारी अभियानलाई दोष दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले नकरात्मक सोच र धारण संघ संस्थामात्र होइन हरेक क्षेत्र प्रभावित हुने बताउनु भयो । सहकारी आन्दोलनलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला एकजुट हुनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै महासंघकन अध्यक्ष ओमदेवी मल्लले संघीय संरचनामा तीनै तहका सरकार, महासंघ, केन्द्रीय संघ तथा जिल्ला संघहरूबीच सहकार्यमा आधारित सुशासन प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा सहकारी अभियानलाई उदाहरणीय बनाउने अवसर रहेको उल्लेख गर्दै सहकारी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनु भएको थियो ।
गोष्ठीमा बोल्दै महासंघका पूर्व अध्यक्ष मिनराज कंडेलले समस्यामा रहेका सहकारी संस्था पहिचान गरी प्रभावकारी रूपमा पुनः सञ्चालन गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले सहकारी अर्थतन्त्रको अभिन्न हिस्सा भएको उल्लेख गर्दै गण्डकी प्रदेश सरकार सहकारी प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघकी अध्यक्ष मनकुमारी के.सीले सहकारी अभियानलाई महिला र युवाको आर्थिक सशक्तिकरणमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो । कार्यक्रमका विभिन्न सत्रहरूमध्ये विशेष दुई कार्यपत्र प्रस्तुत गरिएका थिए । महासंघका महाप्रबन्धक सुरेश थापाले ‘सहकारी अभियानको नेतृत्वदायी भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । यस्तै, गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार भेषराज रिजालले ‘सहकारी सुशासन प्रवद्र्धनमा सरोकारवाला निकायहरूको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीको अन्तिम सत्रमा ‘सहकारीमा समस्या र समाधानका उपाय’ विषयक प्यानल छलफल सम्पन्न भयो । छलफलमा सचिव रेग्मी, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवर, महासंघकी सञ्चालक कमला सुवेदी पौडेल, कास्की जिल्ला सहकारी संघका अध्यक्ष दीपक बास्तोला, तथा पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले भाग लिनुभएको थियो ।
कार्यक्रममा महासंघका संचालक तथा गण्डकी प्रदेश समन्वय समितिका संयोजक परितोष पौड्याल र संचालक सुमन नेपालले प्यानलिष्टलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
गोष्ठी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लको अध्यक्षता र महासंघका सञ्चालक हुमा कुमारी जि.सी (अञ्जु)को सञ्चालनमा सम्पन्न भएको थियो ।