आदर्श सञ्चार, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषण भत्ता वितरण गरेको छ । गाउँपालिकाले ल्याएको ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रम अन्र्तगत १७८ हलगोरु पाल्ने किसानलाई पाँचहजारका दरले पोषण भत्ता वितरण गरेको हो ।
काठेखोला गाउँपालिकाले परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उदेश्यले रु. ८ लाख ९० हजार पोषण भत्ता सोझै किसानको हातमा पु¥याइएको गाउँपालिकाले जनाएको छ ।
गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रमले १७८ किसान लाभान्वित भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । गाउँपालिका भित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क संकलन गरेर १७८ किसानलाई रु. पाँच हजारका दरले पोषण भत्ता प्रदान गरिएको हो ।
“हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएका थियो, अहिले १७८ किसानले लाभ उठाउनुभएको छ, कम्तिमा पालिकाले गोरुको संरक्षण र मलमुत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक गोरु संरक्षणको कार्यक्रम ल्याएका थियौ” अध्यक्ष थापाले भन्नुभयो “गाउँपालिकाले यस्तो प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन्छ, दूध उत्पादन गर्ने किसानले प्रति लिटर रु. साढे दुई रुपैयाका दरले अनुदान समेत पाएका छन्, भने वडा स्तरमा माइनर ल्याव स्थापना गरी पशु सेवा दिइएको छ ।”
मिनी टेलर हलो वितरण कार्यले गोरु पाल्ने किसानलाई निरुत्साहित भएको महसुस गाउँपालिकाले गरेको थापाले बताउनुभयो । स्थानीय तहले कृषिमा आधुनिकीकरणको नाममा मिनी टेलर हलो वितरण गर्ने लहडै चलेको बताउदै अध्यक्ष थापाले गाउँ–गाउँमा परम्परागत खेती गर्नका लागि हलगोरु नै उपयुक्त देखिएको, मलमूत्रको प्रयोग कृषिमा अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न थालिएको हो ।
गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पार्ने काठेखोला गाउँपालिकाका पशु शाखा प्रमुख होम बहादुर थापाले जानकारी दिनुभयो । मिनिटेल हलोमात्रै वितरण गरेर नहुँने बताउदै हामी जस्ता गोरु पाल्ने किसानले पहिलोपटक गाउँपालिकाले सहयोग गरेको काठेखोला गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मर बहादुर थापाले खुसी व्यक्त गर्नुभयो । रेशमा पाँच हलगोरु पाल्ने किसानले अनुदान पाएका थिए ।
काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा किसानलाई रु. एक लाख लिट र दूधमा प्रोत्सानह रकम रु.साढे दुई रुपैयाका दरले रु. दूई लाख ५० हजार रकम सहकारी र समूह मार्फत वितरण गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार ३ वटा सहकारी र एक समूहले दूधमा प्राप्त गर्ने अनुदान सोझै किसानकोमा पु¥याइएको बताउनुभयो । गाउँपालिकाले पशुपालन क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याएको पाइएको छ ।
पालिकाले किसानलाई निःशुल्क रुपमा पशु स्वास्थ्य औषधी वितरण गरिएको छ भने ९२ ओटा गाई भैसीको नश्ल सुधारको लागि कृतिम गर्भाधान गराइएको छ । नयाँ बाख्रा पकेट विकास कार्यक्रम रेश साना किसान सहकारी मार्फत ५० प्रतिशत अनुदान दिइएको, पशुपंक्षी फार्म यन्त्रिकरणमा सहयोग गरिएको छ ।