सम्पादकीय
नेपालको विकास योजना, आयोजनाहरु यति सुस्त, अस्तव्यस्त छन् कि जसले निर्धारित समयमै काम सम्पन्न त भएका छैनन् नै, कहिले निर्माण सम्पन्न हुने पनि निश्चित छैन । राष्ट्रिय गौरवकै आयोजनाहरु पनि यही नियतिबाट वर्षौदेखि गुज्रिरहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वर्षौदेखि कन्तबिजोग छ । बागलुङदेखि घोडाबाँधेको २५ किमी सडकमा पछिल्लो वर्षदेखि भने केही आशा जागृत भएको छ । यद्यपि, अझै ढुक्क हुने अवस्था भने छैन । यी र यस्ता ठेकेदारको लापरबाहीले अलपत्र परेका योजना, आयोजनाका कारण नागरिकमा भने निराशा र आक्रोश बढ्दै गएको छ । तर, नेपालमा केही भएको छैन भन्ने भाष्य जबरजस्त स्थापित गर्ने प्रयास भइरहको छ, ठ्याक्कै अवस्था त्यस्तो मात्रै पनि होइन । नेपालमा केही त भइरहेकै छ । यसको एक उदाहरण र अनुभूति मुग्लिन पोखरा सडक खण्डमा भएको कामबाट जनता प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।
मुग्लिन पोखरा सडकमा वर्षौदेखि सास्ती र सकस खेप्दै यात्रा गरेका यात्रुहरु अहिले सोही सडक मार्फत यात्रा गर्दा खुशी महुशुस गरिरहेका छन् । एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेनको सडक विस्तार गरी चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार भइरहेको छ । वैशाख २०८१ सम्म काम सक्ने लक्ष्य राखेर चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता थियो । ३८.८८ किलोमिटर दूरी रहेको पश्चिमी खण्डको करिब ५२ प्रतिशत भौतिक प्रगति छ । पृथ्वी राजमार्गको आँबुखैरेनी–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३ किलोमिटर (दमौली क्षेत्रमा डेढ किलोमिटर, डुम्रे बजार नजिकै ३ सय मिटर र बिमलनगर नजिकै ७ सय मिटर) जति सडक मात्रै कालोपत्रे हुन बाँकी छ । पूर्वी खण्डको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म ४१.४५ किलोमिटर लामो पूर्वी खण्डको ३८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । पूर्वी खण्डको तेस्रो पटक थपिएको म्याद आगामी असार २९ गतेसम्म छ । चैतको अन्तिम र वैशाखमा परेको पानीले केही दिन काममा डिस्टर्ब भए पनि अहिले भने कामले गति लिएको छ ।
मुग्लिन पोखरा सडक यस्तो राजमार्ग हो, जहाँ दैनिक हजारौं सवारी साधन मार्फत लाखौं यात्रुहरु आफ्नो गन्तव्य तर्फ लाग्छन् । तर, हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुँदा चर्को सास्ती र सकस खेप्नुपर्ने बाध्यताले आम नागरिक आजित बन्नु परेको थियो । अहिले ढिलै भए पनि राजमार्ग कालोपत्रे हुँदा यात्रा घण्टौ छोटिएको मात्रै छैन, यात्रा आरामदायी पनि बनेको छ । अर्कोतर्फ देशको राजनीतिक बेथिति, भ्रष्टाचार, अनियमितता, कमिसन लगायतका विकृति व्याप्त हुँदा नागरिकमा छाइरहेको निराशामा पनि केही आशा छर्ने काम यस सडकले गरेको छ । सरकारले वर्षौदेखि यी र यस्ता अधिक महत्वका आयोजनाहरु पनि समयमै सम्पन्न गर्नमा यथोचित ध्यान दिएको देखिदैन । भाषण, आश्वासन, नीति, कार्यक्रममा अभिव्यक्त गरिए पनि यसतर्फ खास गम्भिरता देखिदैन । यही कारण पछिल्लो समय स्थानीय सर्वसाधारणले मन्त्री, नेताहरुका गाडी रोकेर हिलाम्य सडकमा हिँडाउनेदेखि सांकेतिक बिरोधहरु शुरु गरेका छन् । अब पनि सरकार, राजनीतिक दल, नेता, कर्मचारीतन्त्रले यसलाई नचेत्ने हो भने भोलिका दिनमा जनआक्रोशले अझ खतरानक रुप लिन सक्छ । अतः मुग्लिन पोखरा सडकको बाँकी काम समयमै सक्ने र अरु योजना, आयोजनाका कामलाई पनि समयमै सही तबरबाट सम्पन्न गर्न गराउन सरकार र सरोकारवाला गम्भिर बन्न जरुरी छ ।