खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिका–८ सिगानामा आइतबार माटो परिक्षण शिविरमा ७५ जना किसानले आफ्नो खेत बारीको माटो परिक्षण गराउनुभयो ।
राम्रो सुन्तलाखेती रहेको त्यहाँका किसानको माटोमा भने अधिकांश अम्लियपना रहेको पाइएको छ । अर्थात क्रमश माटोको उब्जनी शक्तीमा गिरावट आइरहेको पाइएको छ ।
कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको पाँच ठाउँमा गरेको माटो परिक्षण शिविरमा सबैभन्दा बढी अम्लियपना रहेको माटो सिगानाको रहेको पाइएको छ ।
जम्मा ७५ जना किसानले माटो परिक्षण गराएकोमा ६९ जना किसानको माटोमा अम्लियपना फेला परेको थियो भने छ वटा माटोको नमूनामा मात्रै तटस्थ देखिएको थियो । तटस्थ माटोमा नाइट्रोजन, फस्फोरस र पोटास मध्यम अर्थात खेतीगर्न योग्य माटो रहेको थियो । असन्तुलित मलखादको प्रयोगले माटोको प्राङ्गारिक पदार्थमा कमी आउन थालेको बताउदै माटोको सहि उपचार गर्न किसानलाई सुझाएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।
उहाँले जिल्लाभरका १० स्थानीय मध्ये यो वर्ष सात स्थानीय तहमा माटो परिक्षण घुम्ती शिविर गर्ने लक्ष्य लिइएको बताउदै पाँच स्थानमा माटो परिक्षण शिविर सम्पन्न भएको बताउनुभयो । अनुदान मुखी कृषि कार्यक्रमलाई किसानको आवश्यकता र स्थानीय तहको सिफारिसमा माटो परिक्षण गर्न थालिएको बताउनुभयो । उहाँले बागलुङ नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा ३०९ वटा माटोको नमूना परिक्षण गरिएको बताउनुभयो । परिक्षण गरिएको ३०९ मध्ये १७० नमूनामा अम्लियपना तथा १३ नमूनामा क्षारीय तत्व फेला परेको थियो । यस्तै १२६ नमूना माटो परिक्षणको रिपोर्ट सामान्य तटस्थ रहेको पाइएको छ ।
कृषि ज्ञान केन्द्रले तमानखोला गाउँपालिका–२ मा ४३ जनाको माटोको नमूना परिक्षण गरेकोमा २८ नमूनामा अम्लियपना र १५ मा तटस्थ देखिएको थियो ।
यस्तै बडिगाड गाउँपालिका–६ मा आयोजना भएको माटो परिक्षण शिविरमा ५८ जनाको नमूना परिक्षण गरेकोमा १३ क्षारीय, १ अम्लियपना र ४४ तटस्थ देखिएको थियो ।
यस्तै ताराखोला गाउँपालिका–२ मा ७५ वटा माटोको नमूना परिक्षण गरिएकोमा ५१ माटोको नमूनामा अम्लियपना र २४ मा तटस्थ देखिएको थियो भने जिल्लाको गलकोट नगरपालिका–४ मा ५८ माटोको नमूना परिक्षण गरेकोमा २१ वटामा अम्लियपना र ३७ वटामा तटस्थ फेला परेको थियो ।
केन्द्रले शिविर मार्फत गाउँ–गाउँमै पुगेर माटो परिक्षण गरिरहेको बताउदै ज्ञान केन्द्रले अझै काठेखोला सहित थप एक पालिकामा माटो परिक्षण गर्ने योजना रहेको जनाएको छ ।
“असन्तुलित मलखादले माटो बिग्रदै गएको छ, माटोलाई समयमा उपचार गर्न आवश्यक छ, पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घट्नाले माटोमा अम्लियपना बढी भएको पाइएको छ” केन्द्र प्रमुख सिलवालले भन्नुभयो “क्षारीय र अम्लियपनलाई तटस्थमा ल्याउन प्राङ्गारिक मल, हरियो मल प्रयोग तथा र कोसेबाली लगाउन आवश्यक छ ।”
अम्लीयलाई कृषि चुना प्रयोग गर्न किसानलाई सुझाव दिइएको कृषि ज्ञान केन्द्र बागलुङका अधिकृत जमुना भण्डारीले बताउनुभयो । उहाँले युरिया मलको बढ्दो प्रयोगले माटोको अवस्था बिग्रदो भएकाले नाइट्रोजन, फस्फोरस र पोटासको सन्तुलित प्रयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ । माटोमा अम्लियपना बढी भए उर्वराशक्तिमा ह्रास आएको परीक्षणका क्रममा भेटिएको छ । माटोको परीक्षणमा एकदेखि १४ सम्म पिएच हुनेगर्छ । त्यसमध्ये ७ तटस्थ हो । सातभन्दा तल देखिएमा अम्लियपना र माथि भएमा छारिय भनिने उनको भनाइ छ । ६ पिएच सम्मलाई धानखेतीमा राम्रो मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढेको भण्डारीले बताउनुभयो ।