आदर्श सय पर्यटकीय गन्तव्य : पहिलेको चरिचरन, अहिलेको चर्चित गन्तव्य हाँडिकोट

खेमराज गौतम, बागलुङ
आदर्श सञ्चारको एक सय पर्यटकीय गन्तव्य मध्येको एक हो हाँडिकोट । एक दशकअधि सम्म हाँडिकोटको महत्व पशु चरिचरनका लैजाने स्थानीयले मात्रै चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटक पुग्न थालेका छन् ।
घना जंगलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु स्थानीय तहको स्थापनापछि एकाएक चर्चामा आउन थालेपछि पदयात्रा प्रेमीका लागि हाँडिकोट उपयुक्त गनतव्य बन्न थालेको हो ।

समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाडमा अहिले गोठाला जान छोडे तर आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । हाँडिकोट पुग्नका लागि डाँडाखानी र ब्याडथलाबाट दुबैतर्फबाट पदमार्ग निर्माण भएपछि पदयात्रा मार्फत त्यहाँ पुग्ने पर्यटकहरु आकर्षति भएका हुन् ।
डाँडाखानीबाट झण्डै चार किमि पदमार्ग र ब्याडथलाबाट तीन किलोमिटर परम्परागत पदमार्ग निर्माण पछि त्यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ । पूर्वाधार र प्रचार–प्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरन स्थल हाँडिकोट टापु पुग्ने आन्तरिक पर्यटकहरु बढिरहेका छन् । बागलुङको गलकोट दुदिलाभाटीबाट तस्बिर कैद गर्नका लागि हाँडिकोट पुग्नुभएको राम खत्रीले यहाँबाट देखिने मनोरम दृश्यले लोभाएको बताउनुभयो । डाँडाखानीबाट एक घण्टको पैदलयात्रामा हाँडिकोट पुग्नुभएको खत्री फर्कदा ब्याडथलाको पदमार्ग प्रयोग गरेको बताउनुहुन्छ । उहाँले सूर्योदय हेर्न, गुराँसको वन हेर्न र दर्जनौ हिमाल हेर्नका लागि हाँडिकोट उपयुक्त गन्तव्य रहेको बताउनुभयो । यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे संगै दर्जर्नौ हिमऋङ्खला देख्न सकिन्छ ।

“फोटो भिडियो खिच्न रुची राखेर पैदलयात्रामार्फत पर्यटकीय स्थालहरु पुग्ने गरेको छु, हाँडिकोड पछिल्लो समय चर्चामा आएको गन्तव्य रहेछ, पदयात्रामा रुची राख्ने र प्रकृतिसंग रमाउनेका लागि हाँडिकोट उपयुग्त गन्तव्य लाग्यो, बिहानै आउने पर्यटकका लागि सूर्योदयले मनै लोभ्याउनछ, कोलाहलपूर्ण वातावरणबाट अलग्गै बस्नका लागि हाँडिकोट पृथक गन्तव्य रहेछ” खत्रीले भन्नुभयो “यहाँबाट देखिने जैमिनीका अधिकांश गाउँ, हिमालहरुले मनै लोभ्यायो, पहिलाको पशु चरिचरन अहिले पर्यटकीय स्थल भएछ ।”

हाँडिकोट पुग्नका लागि पछिल्लो समय सडक मार्ग समेत पु¥याईको छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धाम पछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तिब्रता दिएको जनाएको छ । धार्मिक तथा ऐतिहासिक महत्वको रुपमा रहेको हाँडिकोटका थुपै्र विशेषता रहेका छन् जसमध्ये सूर्योदय र सूर्यास्त पर्यटकलाई लोभ्याउने माध्यम बनेको छ । बागलुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने मनोरम दृश्यहरु आन्तरिक पर्यटकलाई साच्चिकै लोभ्याउने खालको छ । जैमिनी नगरपालिकाको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको हाँडिकोट टापु पछिल्लो बन्दोबस्तीका सामान सहित त्यही रात बिताउन समेत जाने गरेका छन् ।
पदमार्गको पहुँच विस्तारपछि र प्रचार प्रसारका कारण हाँडिकोटमा आन्तरिक पर्यटकहरु आउन थालेकोे राङ्खानीका स्थानीय लाल बहादुर पुनले बताउनुभयो । उहाँले बाख्रा भैसी चराउन जाने हाँडिकोटमा अहिले पर्यटक आउने गरेको बताउनुभयो ।

हाँडिकोटमा पुग्ने पदमार्ग, मन्दिर, सत्तल तथा भ्यू टावरलगायतका संरचनामा करिब ७५ लाख खर्च भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ । त्यहाँ भ्यू टावरले पूर्णता र खानेपानीको बन्दोबस्त हुन बाँकी रहेको छ ।

हाँडिकोट टापुबाट तल बादलले ढाकेका पहाडहरु देख्दा हाँडिकोटले त्यहाँ पु¥याउने पर्यटकहरुलाई लोभ्याउने गरेको छ । बाइसे चौबिसे राजाका पालामा रहेको दरबारका भग्नावशेष समेत हाँडिकोटमा पाउन सकिन्छ । समथर भुभाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शीला सुसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट समेत पर्यटकहरु आउने गरेका छन् ।

हाँडिकोट पुग्नलाई सडक मार्ग, दुई तर्फबाट पदमार्ग, विश्रमास्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शिला संरक्षण लगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु सतिह ७५ लाख भन्दा बढी लगानी भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

हाँडिकोटको प्रचार प्रसारका लागि हाँडिकोट महोत्सव समेत गरिदै आइएको छ । हाँडिकोटमा २०७७ साल यता पूर्वाधार निर्माणले तिब्रता पाएको हो । हाँडिकोट बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरुले राज्य गरेको समेत स्थान हो । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका जाँतो, ओखल लगायतका सामाग्री अहिले समेत जिवित रहेका छन् ।

हाँडिकोट टापु पुग्नका लागि सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटर यात्रामा व्याडथला र डाँडाखानी पुग्न सकिन्छ भने त्यहाँबाट पैदलयात्रा र सडक यात्रा दुबैमार्फत टापुमा पुगिन्छ ।

यो पनि पढ्नुहोस्