डम्मर बुढामगर, बागलुङ
बागलुङको बडिगाडखोलामा मोटरेवल पुल बनेको छ । बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरि मोटरेवल पुल निर्माण भएको हो । पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि संचालनमा आएको छ । पुल संचालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी सहज भएको छ ।
वि.सं. २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालय बागलुङले रायमाझी/राजेश्वरी/पिटीआर/अधिकारी जेबी निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । वि.सं. २०७९ फागुनमा पुल सक्ने गरि पुल जिम्मा दिए पनि तोकिएको समयभन्दा तीन वर्षपछि मात्रै सम्पन्न भएको हो । पर्याप्त बजेट नआउँदा पुल समयमै सम्पन्न नभएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
रु सात करोड ६६ लाखमा निर्माण भएको पुल दुई महिना अगाडिदेखि पूर्ण रुपमा संचालनमा आएको उहाँको भनाइ छ । निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरे पनि रु छ करोड ५९ लाख भुक्तानी पाएको भन्दै अझै रु एक करोड सात लाख भुक्तानी गर्न बाँकी रहेको लामिछानेले बताउनुभयो । बजेट नहुँदा भुक्तानी गर्न नसकेको उहाँ बताउनुहुन्छ ।
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले लामो समयसम्म पुल नबन्दा ग्रामीण क्षेत्रका नागरिकहरु मारमा परेको भन्दै सहज बन्ने बताउनुभयो । यो पुल बनेपछि धेरै ग्रामीण क्षेत्र मध्यपहाडीसँग सिधा जोडिएको उहाँको भनाइ छ । यस पुल तरेर लोकमार्गको वैकल्पिक सडकमार्फत मालारानी हुँदै राजकुट, हर्पे हुँदै देविस्थना निस्किएर रोल्पा, रुकुम, जाजरकोट लगायतका ठाउँमा पुग्न सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “पुल नबन्दा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको थियो, बजारबाट गाउँमा सामान ढुवानी र यात्रा गर्न सकस थियो, अब बजारबाट सिधै गाउँसम्म गाडी चल्न सक्ने भएका छन्, पहिले त खाला वारिनै गाडी रोकेर सामान बोकेर गाउँमा उक्लिनु पर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ ।”
स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्न सहज भएको बताउनुभयो । गाउँमा धेरै किसानले फूलफूल र तरकारी उत्पादन गरे पनि डोकोमा बोकेर बजार पु¥याउने गरेको भन्दै अब बारीबाट गाडीमा हालेर बजार लैजान सकिने उहाँको भनाइ छ । पुलले कृषकलाई सबैभन्दा बढी सहजता बनाइ दिएको उहाँले बताउनुभयो ।