स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख

खेमराज गौतम, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्ष सम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तह मध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले अहिले सम्म भाडाकै घरबाट सेवा दिदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिदै आएको पालिकाले स्थापनाकालदेखि आधा करोड रकम भाडामा मात्रै खर्चेको छ ।
लामो समय हुँदा समेत पालिकाको आफ्नै भवन नबन्दा स्थानीय पालिकाप्रति प्रश्न गर्दै आएका छन् ।
जिल्लाका ७ पालिकाको आफ्नै भवन छ भने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरेपनि अहिले सम्म टुङ्गो लगाउन नसकेको हो । गाउँपालिकाका निर्वाचति जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउदा समेत पालिकाको भवन निर्माण नहुँनु दुखद् भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय गणेश बहादुर भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिकाले ९ वर्ष सम्म आफ्नो जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताउनुभयो ।
“जब सम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छोड्दैनौं, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा बस्नुपर्ने अवस्था छ” भण्डारीले भन्नुभयो “गाउँपालिकालाई स्थानीय देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिले सम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ ।”
अन्य पालिका आफ्नै भवनमा सरेका छन् भने गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा रहेको छ । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्षपछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो ।

बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगेपनि पुन मुद्दा परेर बिबाव बढेको थियो । नौं वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता नपाएको हो । अघिल्लो पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरी १३ औँ गाउँसभाबाट पारित गरेर रु. एक करोड रकम बिनियोजन गरेपनि सामुदायिक वनमा भवन बनाउन स्थानीयलेनै अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताउनुभयो । भीमसेन माध्यामिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्नीसङको काम गरिरहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन ।
त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच बिबाद भइरहेको छ । वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेपनि वनमा मुद्दा परेर काम रोकिएकाले अहिले भाडा नतिर्नेगरी विद्यालयको भवनमा पालिका सर्न थालेको बताउनुभयो । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाई भएको छ ।

यो पनि पढ्नुहोस्