अदर्श सञ्चार, म्याग्दी
म्याग्दीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । उमेर समुहका सबै बालबालिका खोपको पहुँचमा पुगेपछि घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिना भित्रका एक हजार दुई सय ३५ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाई रहेको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
१६ देखि २७ महिना उमेर समूहका बालबालिकाहरु मंगला गाउँपालिकामा दुई सय ११, रघुगंगा गाउँपालिकामा एक सय ५२ जनाले पूर्णखोप पाएको सुनिश्चितता गरिएको थियो । त्यस्तै धवलागिरी गाउँपालिकामा छ सय ३१, मालिका गाउँपालिकामा नौ सय २८, अन्नपूर्ण गाउँपालिकामा चार सय ३७ र बेनी नगरपालिकामा एक हजार दुई सय ९२ जना १६ महिना देखि ५९ महिना भित्रका बालबालिकाले पूर्णखोप पाएको ठकुराठीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा जिल्लाका सबै ४५ वटै वडाका खोप समन्वय समितिको बैठक, छ वटै पालिका खोप समन्वय समितिको बैठक राख्नुका साथै घरधुरी सर्वेक्षणसहित सबै बालबालिकाको पूर्णखोप सुनिश्चितता पक्का गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।
एक जना बच्चालाई पूर्ण खोप लगाउनका लागि करिब ४० हजार खर्च लाग्ने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । वैशाख ८ गते धवलागिरी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरेर सुरु भएको अभियान सुरु भएको थियो । ९ गते मालिका गाउँपालिका, १० गते मंगला गाउँपालिका, १५ गते रघुगंगा गाउँपालिका १९ गते अन्नपूर्ण गाउँपालिका र २१ गते बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर पालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १४ प्रकारका खोपको सबै मात्रा पुरा गरेकोले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।