खेमराज गौतम, बागलुङ
आदर्श सञ्चारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको एक हो गाजा दह । समुन्द्री सतहदेखि २ हजार ५०० मिटरको उचाइमा छ बागलुङको गाजा दह । धार्मिक रुपमा अत्यन्तै महत्वको क्षेत्रको रुपमा रहेको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् ।
बागलुङको जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्दछ ।
पछिल्लो समय जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्ष्ण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माण लगायतका पूर्वाधार थपिदै गएको छ ।
अहिले मन्दिर निर्माणको चरणमा रहेको छ भने गाजा दहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुला सहितको पूर्वाधार जैमिनी नगरपालिकाले गत वर्ष निर्माण गरेको छ ।
तालवरपर परम्परागत शैलीमा ढुङ्गा छपाएर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ । गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकम समेत संकलन गरिएको जैमिनी नगरपालिका–३ का वडा अध्यक्ष कृष्ण बहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारले सामान्य पूर्वाधारमा सहयोग गरेपनि थप पूर्वाधार निर्माणका लागि महायज्ञ मार्फत रु. ७२ लाख संकलन गरिएको जानकारी दिनुभयो ।
अहिले दहभित्र २०फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको बताउनुभयो ।
स्थानीयको रु. १० लाख र महायज्ञको रु. १० लाख गरी रु. २० लाखको लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको भुजेलले बताउनुभयो ।
“गत वर्ष रु. तीन लाखको लागतमा जैमिनी नगरपालिकाले गाजा दहमा दृश्यावलोकन स्थल निर्माण गरेको थियो, अहिले सिद्धबराहको मन्दिर निर्माण थालिएको छ, पदमार्ग लगायतका संरचना थपिएका छन्, क्रमश पूर्वाधार थपिदा शौन्दर्यकरणमा वृद्धि भएको छ, ताल संरक्षण मुख्य चुनौती हो” भुजेलले भन्नुभयो “धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको गाजा दहमा पुग्ने आन्तरिक पर्यटकमा वृद्धि भएको पाइन्छ, अहिले गुराँसको वन भित्रको ताल मनमोहक देखिन्छ ।”
गाजा दहमा सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ ।
यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् । गाजादहबाटै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहितका एक दर्जन हिमऋङ्खला देख्नसकिने गाजा दह अवलोकनका लागि बागलुङबाट पुग्नुभएको हिमाल सुवेदीले बताउनुभयो । उहाँले गाजा दह पुग्ने सडक स्तरोन्नती गर्न भने आवश्यक रहेको बताउनुभयो । सिगाना सम्म कालोपत्र सडक पुगेपनि त्यहाँबाट १४ किमि सडक अझै स्तरोन्नती हुन बाँकी रहेको छ ।
हरेक वर्ष सिद्धथानमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा परम्परागत मेला लाग्नाले गाजा दहको महत्व बढ्दै गएको छ ।
बाला चतुदर्शीमा सतबीज छर्नेको भीड लाग्ने गर्दछ । चिसोहावापानीमा गाजादहको काखमा बसेर घरबासको स्वादिष्ट परिकार समेत खान पाउने व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेश सरकारले गाजा दहलाई एक सय पर्यटकीय गन्तव्यको सूचिमा रोखेको छ । महायज्ञमा संकलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले गाजादहको प्रचार÷प्रसार र प्रर्बद्धनमा पालिकाले सघाउदै आएको बताउनुभयो ।
धार्मिक आस्थाको केन्द्र रहेको गाजा दहको समग्र विकासको लागि पालिकाले गुरु योजना बनाउने शर्माको भनाई छ ।
प्रचार/प्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रर्बद्धन गर्न त्यहाँका स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको हो ।
गाजा दहको धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गाजा दहको संरक्षण गर्दै ताल परिषरमा सिद्ध बराह भगवानको पूर्णकदको मूर्ति निर्माण गर्ने लगाएतका उद्देश्य स्थानीयसंग रहेको छ ।