दुग्ध सहकारीको २६ औँ स्थापना दिवस, दुध, मासु र अण्डामा आत्मनिर्भर छ : मन्त्री पदमा जिसी श्रेष्ठ

आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले प्रदेश दुध, मासु र अण्डामा आत्मनिर्भर रहेको बताउनुभएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २६ औँ स्थापना दिवसका अवसरमा आयोजित सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

गण्डकी प्रदेशका ५७ दशमलव ६ प्रतिशत जनसंख्या कृषि पेशमा आवद्ध रहेको भन्दै उहाँले फलपूmल र तरकारीमा पनि प्रदेश आत्मनिर्भर उन्मुख रहेको बताउनु भएको हो ।

कृषकको माग अनुसार कृषि र पशुपालनको क्षेत्रमा काम गर्न नसके पनि सिमित साधन र स्रोतको सहि सदुपयोग गर्दै काम गरि रहेको उहाँले बताउनु भयो ।

गण्डकी प्रदेशलाई आलु, चैते धान, सुन्तला र स्याउमा निर्यात गर्न सक्ने प्रदेशको रुपमा परिचित गराउन आफुहरु लागि रहेको उहाँको भनाई थियो ।

मन्त्री श्रेष्ठले स्थानीय तहसँग साझेदारीमा समेत काम गर्ने बताउनु भयो । उहाँले बागलुङको प्राथमिकतालाई हेरेर प्रदेश सरकारले समेत बजेट र योजना ल्याउने बताउनु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले खाद्य वस्तुको गुणस्तर मापनका लागि ल्याब अभावमा बजार अनुगमन गर्न नसकिएको बताउनु भएको थियो ।

उहाँले मन्त्री श्रेष्ठसँग प्रविधिको अभाव हुँदा उपभोक्ताको स्वास्थ्यसँग प्रतक्ष जोडिएका विषयमा समेत काम गर्न नसकिएको भन्दै खाद्य वस्तुको गुणस्तर मापनका लागि ल्याब, कृषकका उत्पादनलाई बजारिकरणका लागि कृषि एम्बुलेन्स र चिस्यान केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्न माग गर्नु भएको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ प्रमुख प्रेम अर्यालले प्रस्तुतीकरण गर्नु भएको थियो ।

उहाँहरुले खाद्य वस्तु, दुधको गुणस्तर कसरी कायम गर्ने, शुद्धता, प्रशोधन र बजारिकरण कसरी गर्ने, कार्यालयबाट प्रदान हुने कार्यक्रम, अनुदान र पशुवस्तुको उपचार र रोकथामका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका टिका विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द पौडेल, कृषि ज्ञान कन्द्र बागलुङ प्रमुख राजेश्वर शिलवाल, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनस्याम सापकोटा, कृषि विकास बैंकका विक्रम शर्मा, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी, बागलुङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डी प्रसाद शर्मा, बहुउधेश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादर कुँवर, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

स्थापना दिवसका अवसरमा गाजा दुग्ध उत्पादक सहकारी संस्था लेखानी, संगम दुग्ध उत्पादक सहकारी संस्था जलजला, नमुना दुग्ध उत्पादक सहकारी संस्थालाई नगद सहित सम्मान गरिएकोे छ । त्यसैगरी उत्कृष्ट उपभोक्ता भगवती श्रेष्ठ र होमबहादुर खत्री र उत्कृष्ट कर्मचारी गणेश खड्कालाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रामबहादुर हमालको स्वागत तथा सचिव गोविन्द प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

यो पनि पढ्नुहोस्