आदर्श सञ्चार, म्याग्दी
पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले झण्डै ६६ करोड ऋण लगानी गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले कुल ६५ करोड ९३ लाख १० हजार छ सय ३६ रुपैंयाँ ऋण लगानी गरेको हो ।
संस्थाको आयोजनामा बेनी नगरपालिका–४ तातोपानीमा शनिबार भएको बिस्तारित मञ्च कार्यक्रममा संस्थाले आफ्ना शेयर सदस्यहरुबाट बचत जम्मा गरी लगानी गरेको बताइएको थियो । संस्थाका व्यवस्थापक प्रेमलाल कँडेलले संस्थाका ८ वटा सेवा केन्द्रबाट उक्त परिणाममा लगानी गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सहकारी संस्थाक एक हजार एक सय ऋणीहरुले उक्त रकम ऋण लिएका हुन् । म्याग्दी जिल्लाका साथै पर्वत जिल्लामा समेत सेवा केन्द्र रहेको सहकारीको ९० करोड ७९ लाख २२ हजार ८ सय १३ रुपैयाँ कुल सम्पत्ती तथा दायित्व रहेको छ ।
सहकरी संस्थामा कुल छ हजार तीन सय ५६ जना शेयर सदस्यहरुबाट १२ करोड २३ लाख १५ हजार शेयर पुँजी जम्मा भएको छ । त्यस्तै साधारण जगेडा कोषमा तीन करोड ४० लाख ८३ हजार चार सय ८०, अन्य कोषहरुमा तीन करोड २१ लाख ३५ हजार आठ सय ३९ रहेको छ ।
संस्थाको केन्द्रीय कार्यालय र ८ सेवाकेन्द्रमा गरी १३ पुरुष सहित ३३ जना कर्मचारीले सहकारी संस्थाको व्यवस्थापकिय जिम्मेवारी निर्वाह गरेको सहकारीका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
संस्थाले आयोजना गरेको कार्यक्रममा मालिका गाउँपालिका ६ का निवर्तमान वडा अध्यक्ष सन्तनाथ जैसी, संस्थाका अध्यक्ष भीमप्रसाद गौतम, उपाध्यक्ष हरिप्रसाद पौडेल, कोषाध्यक्ष श्रीराम पौडेल लगायतले धारणा राख्नु भएको थियो ।