परीक्षणमै सिमित प्याराग्लाइडिङ

आदर्श सञ्चार, बागलुङ
बागलुङ प्याराग्लाइडिङमा निकै संभावना रहेको परीक्षण उडानले देखाउछ । बागलुङका उच्च पहाडको एक दर्जन भन्दा बढीस्थालनबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङको व्यवसायिकता दिन समेत प्रयास थालिएको थियो ।

विभिन्न स्थानबाट प्याराग्लाइडिङको सफल परीक्षण भएपनि अहिले सम्म परीक्षणमै प्याराग्लाइडिङको उडान सिमिति भएको छ । बागलुङमा गण्डकी प्रदेश सरकारले २०७७ सालमा बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार समेत निर्माण गरेपनि प्रयोग बिहिन भएको छ ।

बागलुङ नगरपालिका–६ भरिलाखुरी, बागलुङ नगरपालिका–१३ पहरेडाँडा, ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यका, गलकोट नगरपालिका–७ राम्चेढुङ्गा लगायतको स्थानबाट विभिन्न समयमा परीक्षण उडान भइसकेको छ ।

बागलुङको बलेवामा प्याराग्लाइडिङको सफल परीक्षण पछि पोखराको सराङ्कोटको विकल्पमा बनाइएको पूर्वाधार पाँच वर्षदेखि प्रयोग विहिन बनेको छ । प्याराग्लाइडिङ उडान र अवतरणका लागि विपरीत दिशाबाट हावा लाग्ने स्थान सबैभन्दा उत्कृष्ट स्थान हुने भएकाले बलेवा उत्कृष्ट हुनेभएकाले पूर्वाधार बनाइएको थियो ।

व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले २०७७ सालमा रु. २० लाख खर्चेर बलेवाको पहरेडाँडामा तयार पारेका विभिन्न संरचना पाँच वर्ष वित्दासमेत प्रयोगमा आउन नसकेको बागलुङ नगरपालिका–१३ बलेवाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

“पाँच वर्ष अघि बलेवामा प्याराग्लाइडिङ हुँनेभएपछि निकै उत्साहित थियौ, २०७५ सालको बलेवा महोत्समा उडान भरेको स्थान उपयुक्त भएको प्यारापाइलटले जनाएपछि त्यही बलेवाको सिर पहरेडाँडामा प्याराग्लाइडिङका लािग चाहिने मैदान, विश्रामस्थल भवन र शौचालय तयार भएपनि प्रयोगमा आएको छैन, प्रदेश सरकारले पूर्वाधार निर्माणपछि फर्केर आएको छैन” वडा अध्यक्ष शर्माले भन्नुभयो “पूर्वाधार बन्यो, व्यावसायिक उडान हुन सकेन, अहिले पोखराको प्याराग्लाइडिङ व्यवसायनै धरापमा परेपछि झनै आश म¥यो, प्याराग्लाइडिङका लागि निर्माण गरिएका संरचना आफै जीर्ण बन्न थाले ।”

पोखराको प्याराग्लाइडिङको विकल्पका रुपमा विकास गर्ने भन्दै गण्डकी प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहरेडाँडामा संरचना निर्माण गरिएको थियो ।

२०७५ सालमा गरिएको बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएपछि प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको भएपनि त्यसयता उडान गर्न नसकिएको बलेवाका स्थानीय भरत शर्माले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने भन्दै बलेवामा संरचना बनाएपनि प्रयोगमा नआएको उहाँको भनाई छ ।उत्तरतर्फ हावा बहने भएकाले प्याराग्लाइडिङका लागि बलेवा उपयुक्त भएको प्यारापाइलटहरुले परीक्षणको क्रममा बताएका थिए । प्रदेश सरकारले बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई विकल्पको रुपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो ।

धौलागिरी हिमालको काख, कालीगण्डकीले बनाएका खोँचहरुको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्लाको मुकाममाथि शयर गर्न सकिने र सहासिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको भएपनि व्यवसायिकता पाउन सडक पूर्वाधार वगायतका विषयलाई प्राथमिकता दिनुपर्ने पौडेलले भनाउनुभयो ।

यो पनि पढ्नुहोस्