गलकोट–ताराखोला सडक साढे छ किलोमिटर कालोपत्र

डम्मर बुढामगर, बागलुङ
दुई दशक अगाडि ट्रायक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो । बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरि आयोजना सुरु भएको थियो ।

स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि वि.सं.२०७६ कात्तिकमा सम्झौता गरि काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । कोभिड–१९ र विभिन्न समसया देखाएर निर्माण कम्पनीलो लामो समय काम नगर्दा कालोपत्र गर्न सकिएको थिएन । पूर्वधार विकास कार्यालय बागलुङले एपेक्स÷खड्का÷कृष्ण कन्स्ट्रकसनलाई दुई वर्षमा सक्ने गरि जिम्मा दिएको थियो ।

वि.सं.२०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने चार पटक म्याद थप गर्दा हालसम्म ८३ प्रतिशत काम भएका पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्र पुनले जानकारी दिनुभयो । चौथो पटक म्याद थप गरेको अवधी गत चैत मसान्तमा सकिएको भए पनि आगामी असोजसम्मका लागि थप गर्न निर्माण कम्पनीले निवेदन दिएको उहाँको भनाइ छ । बहुवर्षे ठेक्का लगाएर काम सुरु गरे पनि पर्याप्त बजेट नहुँदा यस वर्ष पनि काम सकिने संभावना कम भएको इन्जिनियर पुन बताउनुहुन्छ ।

“यो सडकको काम ०७८ सालमै सकिनु पर्ने हो तर विभिन्न कारणले गर्दा अहिलेसम्म सम्पन्न हुन सकेको छैन, पहिले निर्माण कम्पनीले ढिला सुस्ती ग¥यो अहिले बजेट कम भयो, यस वर्ष त काम सकिन्छ भन्ने थियो रु दुई करोड ५० लाख मात्रै बजेट प¥यो” उहाँले भन्नुभयो – “अहिलेसम्म साढे छ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।”

इन्जिनियर पुनका अनुसार अझै साढे तीन किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडक पनि ग्राभेल गरि सकेको हुँदा कालोपत्रका लागि तयारी अवस्थामा रहको उहाँको भनाइ छ । अहिले हटिया बजारदेखि जंघरासम्म कालोपत्र भएको उहाँले जानकारी दिनुभयो ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि ताराखोला र गलकोट क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न तथा सामान ढुवानी गर्न सहज भएको बताउनुभयो । दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलो आजित बनेका स्थानीयको समस्यासमेत समाधान भएको उहाँको भनाइ छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो – “गलकोट–ताराखोला सडकले दुई वटा पालिका मात्रै जोडेको छैन, यसले म्याग्दी जिल्लालाई पनि जोडेको छ, राष्ट्रिय गौरवको आयोजनालाई पनि जोडेको छ, अझ यहाँका दर्जनौँ गाउँलाई बजारसँग पनि जोडेको छ, पहिले साँघुरो कच्ची सडकमा यात्रा गर्ने नागरिक अब पक्की सडकमा हिड्न पाउने भएका छन् ।”

यो पनि पढ्नुहोस्