आदर्श सञ्चार, म्याग्दी
बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले दूग्ध उत्पादक कृषकलाई दूध बोक्ने ठेकी(क्यान) वितरण गरेको छ । गएको चैत अन्तिमसम्म एक लाख तीन हजार लिटर बढी दूध विक्री गरेको सहकारीले संस्थाका सदस्यहरुलाई सहकारीको संकलन केन्द्रसम्म दूध ल्याउनका लागि ठेकी प्रदान गरेको हो ।
सहकारीले यस पटक ५० जना कृषकलाई पाँच तथा १० लिटर क्षमताको दूधको ठेकी बितरण गरेको हो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार सहकारीका ८० जना सदस्यहरुले दूध उत्पादन गर्ने र सहकारीको संकलन केन्द्रमा ल्याउने गरेका छन् । यस भन्दा अगाडी पनि कृषकको आवश्यकता अनुसार संस्थाले दूध बोक्ने ठेकी खरिद गरेर उपलब्ध गराएको र बाँकी रहेका ५० जना कृषकलाई यस पटक वितरण गरेको हो ।
सहकारीमा कुल चार सय ५० जना शेयर सदस्यबाट दुई करोड ५४ लाख शेयर पुँजी संकलन गरिएको सहकारीका व्यवस्थापक दिपक सापकोटाले बताउनुभयो । सहकारीको विभिन्न कोषमा डेढ करोड रहेको छ । संस्थाले नौ करोड ३० लाख बचत संकलन गरेको सहकारीले दुई सय ७० जनालाई नौ करोड ८० लाख ऋण लगानी गरेको छ ।
सहकारी संस्थाले कृषकको आवश्यकता अनुसार गाइ भैसी खरिद गर्नका लागि सहकारीबाट सहुलियत पूर्ण ऋणको समेत प्रबन्ध मिलाउने गरेको सहकारीका दूग्ध संकलन संयोजक कोपिलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कृषकहरुले आफूले उत्पादन गर्ने दूध बिहान ५ बजे सहकारी संस्थाको कार्यालयमा रहेको संकलन केन्द्रमा ल्याए पछि सहकारीले संकलन गरेर बजारमा बिक्रीका लागि पठाउने गर्दछ ।
अहिले सहकारीले दैनिक रुपमा तीन सय लिटर भन्दा बढी दूध संकलन गर्ने गरेको संस्थाले जनाएको छ । हरेक दिन बिहान ८ देखि साढे ८ बजे सम्ममा दूध प्रयोग गर्ने ग्राहक सम्म दूध पुग्ने गरेको दूग्ध व्यवस्थापक विजुन चोखालले जानकारी दिनुभयो ।
सहकारीले नै गाइभैसी खरिदका लागि ऋण व्यवस्थापन गर्ने, दूध खरिद गर्ने र आवश्यकता अुनसार भाँडाहरु पनि उपलब्ध गराउने गर्दा व्यवसाय गर्न सजिलो हुने गरेको दूग्ध कृषक नर्मता पौडेलले जानकारी दिनुभयो ।