माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको–अध्यक्ष प्रचण्ड

आदर्श सञ्चार, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताउनु भएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आउनु भएका प्रचण्डले आम सभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढेको बताउनुभयो ।

मध्यपहाडी जनजागरण अभियानमा आम नागरिकको गुनासा र सुझाव ग्रहण गर्दै अगाडि बढेको भन्दै यो अभियानले देशमा नयाँ राजनीतिक माहोल बनाउने उहाँको भनाइ छ । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले अब राष्ट्रिय एकतालाई सुदृढ गर्ने र किसानका, मजुदरका, उत्पीडन वर्ग सबैको समस्या केन्द्रीत गरि नयाँ प्रक्रियामा जाने वातवरण बन्ने उल्लेख गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै राष्ट्रिय गौवरको आयोजना मध्यपहाडी लोकमार्गसहित धेरै योजनाहरु त्यस बेला थालनी गरेको दाबी गर्नु भयो । मध्यपहाडी लोकमार्गले मध्य पहाडमा बस्ने लाखौँ जनताको जीवन बदलेको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो – “ नेपालमा राजनीति त्यति सफा भएको छैन, इमान्दारीपूर्वक जे हो त्यही भन्ने भन्दा पनि कन्फ्युज गर्ने प्रचलन छ, अहिले हामीहरु जुन हिसाबले मध्यपहाडी जनजगरण अभियानमा छौँ, यसले नेकपा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको छ, यो यात्रा आम नागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो ।”

पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको उहाँले बताउनुभयो । यसलाई न्यूनिकरण गर्नका लागि सरकारलाई पटक–पटक खबरदारी गर्दै आए पनि नसुनेको उहाँको भनाइ छ । सरकारले सुशासन कायम गर्न नसके एक दिन ठूलो आन्दोलन हुने स्थिती आउन सक्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

यो पनि पढ्नुहोस्