बौद्धिक अपाङ्ग विद्यार्थीलाई आवासीय शिक्षा

आदर्श सञ्चार, बागलुङ
बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा सहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर स्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने गण्डकी प्रदेशकै एउटा मात्रै विद्यालय हो ।

शारिरिक अपाङ्ग, बौद्धिक र सुस्त श्रवण क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउने गरी २०४३ सालमा स्थापना भएको विद्यालयमा अहिले बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययनरत छन् ।

हिरा विद्यार्थीलाई रामरेखा बहिरा आवासीय विद्यालयमा र शारिरिक अपाङ्गता भएका विद्यार्थीलाई रामरेखा आधारभूत विद्यालयमा अध्ययनको व्यवस्था मिलाएपछि यस सामुदायिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययन गराउन थालिएको विद्यालयका प्रधानध्यापक युक्तजंग राजभण्डारीले जानकारी दिनुभयो ।

बौद्धिक अपाङ्गता भएका कास्की, पर्वत, म्याग्दी र बागलुङका ३५ जना विद्यार्थीले यस विद्यालयमा अध्ययन गरिरहेको राजभण्डारीको भनाई छ ।

“बौद्धिक रुपमा अपाङ्गता भएका बालबालिका परिवारमा समेत अपहेलनामा परेका हुन्छन्, उनिहरुलाई हुर्काउने, पालन पोषण गर्ने र सामान्य शिक्षा दिने काम यस सामुदायिक विद्यालयले प्रदान गर्छ” राजभण्डारीले भन्नुभयो “२०५३ सालमा आफ्नै विद्यालय भवन र २०६६ सालमा होस्टेल निर्माण गरिएको थियो, अहिले आवसीय रुपमा २२ जना विद्यार्थी बस्दै आएका छन् भने १३ जना विद्यार्थी घरबाटै विद्यालय आउने जाने गरेका छन्, उनिहरुलाई एक देखि ५ कक्षा सम्मको शिक्षा दिइन्छ ।”

उहाँले विद्यालयले नै अभिभावको जिम्मेवारी निभाउन निकै कठिन रहेको र विभिन्न सामाजिक संघ संस्थाको सहयोगले आवासीय विद्यार्थीलाई खान, बस्न र लत्ता कपडाको जोहो भइरहेको छ । विद्यालयमा तीन शिक्षक र तीन कर्मचारी कार्यरत रहेका छन् ।

२०४३ सालमा स्थापना भएको विद्यालयमा २०५३ सालमा विर्टिस वेलफेयरले विद्यालयको भवन निर्माण गरेको थियो भने २०६६ सालमा प्लान नेपालले होस्टेल निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस विद्यालयमा चार वर्ष देखि १८ वर्ष सम्मका बौद्धिक अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेका छन् । श्रेष्ठका अनुसार विद्यालयमा विभिन्न सामाजिक संघ संस्था तथा पुण्य तिथि, जन्म दिन र शुभकार्यको अवसरमा समेत खाद्यन्न, लत्ता कपडा सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

“विद्यालयमा अझै भौतिक पूर्वाधारको अभाव छ, बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समाल्नै समस्या हुन्छ, अभिभावकले विद्यालयलाई जिम्मा लगाउछन्, केही अभिभावकले दशैं र तिहार बिदामा समेत आफ्ना छोरा छोरी घर लैजान मान्दैनन्” श्रेष्ठले भन्नुभयो “उनिहरुको खानपान, लत्ताक पडादेखि सरसफाई सम्मको काम विद्यालय कर्मचारीलेनै गर्दा निकै समस्या छ, हामिले सेवाको भावले काम गरिरहेका छौं, गण्डकी प्रदेशमै यस्तो प्रकृतिको विद्यालय छैन, हामीहरु बौद्धिक अपाङ्ग बाहेकका अन्य विद्यार्थीलाई अध्यापन गराउदैनौ ।”

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय उपल्लचौरमा अध्यापन गराइदै आइएको छ भने देशभरका ५४ जिल्लाका बहिरा विद्यार्थीलाई बागलुङ नगरपाकिला–१ रामरेखा स्थित धौलागिरी बहिरा आवासीय विद्यालयमा अध्यापन गराइदै आइएको छ ।

यो पनि पढ्नुहोस्