महिलालाई आयआर्जनसँग जोड्न २४० बाख्रा वितरण

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो । गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई २४० वटा बाख्रा वितरण गरिएको छ । दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिला समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो ।

गाउँपालिकाले आठ वटै वडाका महिलालाई बाख्रा उपहार दिई रहेको छ । यसै साता मात्रै काठेखोला गाउँपालिका–७ रेशमा रहेका संघर्षशील, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूहले उपहार समूहमा आवद्व संघर्षशिल, सयपत्री, सुसेली, लगनशिल, सुर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आवद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिलाहरु खुसी भएका छन् ।

बाख्रापालनले जीविकोपार्जनमा सहज भएको स्थानीय सिमादेवी थापाले बताउनुभयो । पछिल्लो समय गाउँमा बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस रहेको उहाँको भनाइ छ । थापाले उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेको सुनाउँदै त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रुपमा चलेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “गाउँपालिका र हेफर संस्थाले हाम्रा लागि निकै राम्रो काम ग¥यो, पहिले बाख्रा पालन गर्ने चलन कम थियो, अहिले गाउँ धेरैले बाख्रा पाल्न थालेका छन्, प्रत्येक घरमा एक÷दुई वटा बाख्रा देखिन्छन्, अप्ठ्यारो परेको बेला एउटा बाख्राको पाठो बेचेर भए पनि गर्जो टर्छ, पहिले दुई चार हजार रुपैयाँ आवश्यक पर्दा ऋण गर्न पथ्र्यो, अहिले एउटा बाठो बेचे आउँछ ।”

काठेखोला गाउँपालिकामा उत्पादन भएका खसीबोकाले बागलुङ बजारमा मासुको आपूर्ति हुँदै आएको छ । वडा नम्बर ४ स्थित महिला समूहले हरेक वर्ष लाखौँको खसीबोका विक्री गर्दै आएका छन् । बिहुँ, लेखानी, रेश, तंग्राम लगायतका गाउँका किसानले उत्पादन तरेको तरकारी र दूधले समेत बागलुङ बजारमा स्थान पाएका छन् । यद्यपी उचित मूल्य नपाएको गुनासो भने किसानले गर्दै आएका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरुले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । पालिकाले महिलालाई उद्यमसँग जोड्ने र आर्थिक रुपमा सवल बनाउनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेर काम गर्दै आएको उहाँको भनाइ छ ।

“पछिल्लो समय धेरै नागरिकको रोजाई सहर बजार र विदेश भएको छ, तर हामीहरुले अब बाहिर जाने नागरिकलाई गाउँमै रोक्ने र उद्यमसँग जोड्ने कार्यक्रम सुरु गरेका छौँ” अध्यक्ष थापाले भन्नुभयो – “स्वास्थ्य, शिक्षा, यातायातसँगै अब उद्यम पनि महत्वपूर्ण हो, त्यसले गर्दा खेरी हाम्रो प्राथमिकता पनि नागरिकलाई स्वरोजगार बनाउने र आत्मनिर्भर बनाउने तर्फ छ ।”

हेफर संस्थाका कार्यक्रमका संयोजक चुडामणि उपाध्यायले ३६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकोमा हालसम्म २४० मात्रै वितरण गरेको जानकारी दिनुभयो । थप १२० वटा बाख्रा वितरण गर्न बाँकी रहेको उहाँको भनाइ छ । हरेक महिला समूलाई रु १० हजार बराबरको बाख्रा उपहार दिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको ७० र हेफरको ३० प्रतिशत लगानीमा उक्त कार्यक्रम संचालन भएको उपाध्यायले बताउनुभयो । हेफरले किसानलाई प्राधिबिकसहित, खोर सुधार, यान्त्रीकरण लगायतको सहयोग गरि रहेको जानकारी दिनुभयो । पालिकासँगकै सहकार्यमा अकबरे खुर्सानी पनि विस्तार गरि रहेको भन्दै हालसम्म २० हजार बढी अकबरे खुर्सानीको विरुवा लगाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्