आदर्श सञ्चार, बागलुङका
बागलुङको रामरेखामा सञ्चालित अधिकांश व्यवसाय दर्ताविनै सञ्चालनमा ल्याइएको पाइएको छ । सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा बागलुङ नगरपालिका वडा नम्बर १ रामेरखामा सञ्चालित किराना पसल, मासु पसल र तरकारी फलफूल पसलहरु दर्ता नगरी सञ्चालन गरेको पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङसँगै, जिल्ला प्रशासन कार्यालय बागलुङका समिर आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रतिनिधि, बागलुङ नगरपालिकाका सरस्वती रेग्मी, पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापा, उपभोत्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र उद्योग वाणिज्य संघ सहितको संयुक्त उपस्थितीमा बजार अनुगमन गरिएको हो ।
रामरेखामा सञ्चालित १० वटा पसलको अनगुमन गर्दा अधिकाशंमा दर्ता नगरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम अर्यालले जानकारी दिनुभयो । १५ दिनभित्र सम्बन्धीत निकायमा व्यवसाय दर्ता गर्न निर्देशन दिइएको उहाँले बताउनु भयो । अनुगमनका क्रममा एकाध पसलमा म्याद सकिएका चिजबल भेटिएको छ । चिजबल नष्ट गरिएको छ ।