भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

आदर्श सञ्चार, बागलुङ
बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ ।
असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन र शिक्षा लगायतका क्षेत्रमा सहकार्य गर्नका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् ।
भरतपुर पुगेका ताराखोला गाउँपालिकाका जनप्रतिनिधि र भरतपुरका जनप्रतिनिधीहरुबीच भगिनी सम्बन्धको प्रस्ताव पत्रमा सोमबार हस्ताक्षर गरि आदानप्रदान गरिएको छ ।
ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक (हिमाल) र भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले संस्कृतिको आदानप्रदान, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्ने गरी भगिनी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रस्तावपत्रमा भरतपुर महानगरका प्रमुख रेणु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र ताराखोलाको तर्फबाट अध्यक्ष धनबहादुर विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । ताराखोला गाउँपालिका गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाको पर्यावरण पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको क्षेत्र र धार्मिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भरतपुर बीच भगिनी सम्बन्ध कायम गरिएको ताराखोला गाउँपालिकाका अधयक्ष धनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

घुम्टे, गाईघाट झरना, डुडेलेक तथा धार्मिक क्षेत्रहरु तिनचुले, वराह मन्दिर, घुम्टे सिद्ध थान पर्यटकीय क्षेत्र रहेको ताराखोला स्थानीय उत्पादन र संस्कृतिलाई महानगरसामुु चिनाउन भगिनी सम्बन्ध कायम गरिएको विश्वकर्माले बताउनुभयो । ऐतिहासिक रुपमा नेपालको शासकीय स्वरूप परिवर्तनमा भएको सशस्त्र संघर्षको उद्गम थलो रहेको गाउँपालिका र भरतपुर महानगरबीच स्थानीय विकासका लागिे समानता र विविधतालाई एक अकर्काले नियमित रुपमा सिकाइका र अवसरका रुपमा लिने गरी समझदारी गरीएको हो ।

भगिनी सम्बन्ध स्थापित गरी शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा वार्षिक सहयोग लगायतका अन्य विविध असल अभ्यास तथा अनुभव आदानप्रदान गर्ने व्यवस्था अनुसार भरतपुर महानगरपालिका र ताराखोला गाउँपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो ।

भरतपुर महानगरपालिका र ताराखोला गाउँपालिकामा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान र सिपको आदानप्रदान, उद्यमशीलता वृद्धि गर्ने, सफल अभ्यासमा प्राविधिक सहयोग, गुणस्तरीय स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन लगायतमा सहयोग आदानप्रदान गर्ने गरी ८ बुँदे समझादारी पत्रमा हस्ताक्षर गरिएको छ ।

ताराखोलाको सिस्नो खोस्ने, छापो हाल्ने, भुस पोल्ने, असारे मेला लगायतका पर्वलेको प्रचार प्रसार संगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दमकल, एम्बुलेन्स सेवा, बस्ती विकास, प्रविधि, संस्कृति र उद्यम विकासका लागि बजार व्यवस्थापनमा सहकार्य गर्ने समझदारी गरिएको हो । यसअघि ताराखोलाले गुल्मीको धुर्कोट गाउँपालिका र तनहुँको बन्दिपुर गाउँपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । ती पालिकाले पनि आपसी भ्रमण, विकास निर्माणको काममा सहकार्य तथा उत्पादनको आदानप्रदान गर्दै आएका छन् ।

कृषि, पर्यटन, शुसासन, पूर्वाधार विकासका क्षेत्रमा भएका असल अभ्यास आदान गर्ने भगिनी सम्बन्धको उद्देश्य रहेको छ । ताराखोला गाउँपालिकाको तर्फबाट सहिद तथा वेपत्ता स्मृति पार्क र नेपाल मावि ताराको विद्यालय बस परियोजनामा सघाउन भरतपुर महानगरपालिकालाई प्रस्ताव गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्