निसीखोलाको कुँडुलामा सामुदायिक स्वास्थ्य इकाई संचालन

आदर्श सञ्चार, बागलुङ
बागलुङको विकट गाउँ कुँडुलामा सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको छ । जिल्लाको निसीखोला गाउँपालिका–७ रहेको उक्त गाउँका नागरिकलाई सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई संचालन संचालनमा ल्याएको हो ।

हालसम्म राजकुट स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका स्थानीय गाउँमा स्वास्थ्य संस्था संचालन भएपछि खुसी भएका छन् । सामान्य चोट पटक लाग्दा, ज्वरो आउँदा र रुघाखोकी लाग्दा करिब दुई घण्टा हिँडेर राजकुट पुग्ने गर्थे । अब बालबालिकालाई खोप लगाउन र सामान्य उपचार गर्नका लागि राजकुट पुग्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय छलिता बुढा मगरले बताउनुभयो ।

कुँडुलाका अधिकांश नागरिकहरु कृषि र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको भन्दै काम गर्ने क्रममा चोटपटक लाग्दा घण्टौँ लगाएर स्वास्थ्य संस्थामा जाने गरेको उहाँको भनाइ छ । गाउँमा संचालनमा आएको सामुदासयक स्वास्थ्य इकाइले बालबालिका र जेष्ठ नागरिकलाई उपचार गर्न सहज हुने बुढा मगर बताउनुहुन्छ ।

“यो ठाउँ भौगोलिक हिसाबले अलि विकट छ, यहाँबाट नजिकमा रहेको राजकुट स्वास्थ्य चौकी हो, त्यहाँ पुग्न पनि झण्डै दुई घण्टा लाग्थ्यो, गाउँमा काम गर्दा चोटपटक लाग्ने, ज्वरो आउने र अरु स्वास्थ्य समास्या हुँदा गाह्रो हुन्थ्यो” उहाँले भन्नुभयो – “अब साना बालबालिकालाई नियमित पोख लगाउन पनि समस्या थियो अब सहज हुने भयो ।”

दूर दराजका नागरिकलाई छिटो छरितो स्वास्थ्य सेवा दिनका लागि गाउँपालिकाले आवश्यकताका आधारमा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताउनुभयो । छ लाख ७४ हजारमा औषधी र केही उपकरण खरिद गरि एक जना अनमीसहित दुई जना कर्मचारी व्यवस्थापन गरेर सेवा सुचारु गरेको उहाँको भनाइ छ । अब छिट्ट उक्त स्वास्थ्य इकाईमा वर्थिङ सेन्टरसमेत संचालन गरिने पुनले बताउनुभयो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले नागरिकले सामान्य उपचारका लागि घण्टौ धाउनु पर्ने बाध्यता अन्त्य गर्नका लागि स्वास्थ्य संस्थाहरु स्थापना गरेर संचालन गर्दै आएको बताउनुभयो । केही समय आगाडि पालिकाको केन्द्र जुग्जाखोलाभन्दा निकै टाढा रहेको निसेलढोरमा पनि सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याएको उहाँको भनाइ छ । संचालनमा रहेका स्वास्थ्य चौकीलाई थप व्यवस्थित र स्तरवृद्धि गर्दै जाने अध्यक्ष घर्ती बताउनुहुन्छ ।

 

 

 

यो पनि पढ्नुहोस्