अक्षर सिक्दै आमाहरु

सिर्जना पन्त, बागलुङ
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातीना विद्यालय पु¥याउन आएका जस्ता देखिने बागलुङका करिब एक दर्जन आमाहरु यतिबेला आफैले कखरा सिक्दै छन् । हुन त नेपाल सरकारले २०७० सालमै ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’ अन्तर्गत पौढ शिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरि सकेको छ ।

तर, बागलुङ सदरमुकामदेखि १० मिनेटकै दुरिमा पुगिने बागलुङ नगरपालिका वडा नम्बर ३ खहरेका १० जना आमाहरु भर्खर कखरा सिक्दै छन् । खहरेको श्री बसन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानध्यापक समेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रम अनुसार पहिलै अक्षर चिनेका ३ जना आमा कक्षा २ र अक्षर नै नचिनेका ७ जना आमाहरु कक्षा १ मा भर्ना भएका छन् । घरधन्दा सकेर किताब कापी बोकी विद्यालय पुग्ने उनिहरु साँझ विहान नाती नातिनीसँगै गृहकार्य गर्ने गरेको बताउछन् ।

५६ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएकी खिमकुमारी कार्की गाउँमा प्रौढ शिक्षा पढाउदा आफुले पढन नपाएको भएपनि ‘आमा शिक्षा कार्यक्रम’ले पढने चाहना पुरा गरिदिएको बताउनु हुन्छ । ‘प्रौढ शिक्षा रातीमा पढाउथे, त्यो बेला मेरा छोराहरु सानै थिए, विजुली बत्तिको पनि व्यवस्था थिएन,’ कार्कीले भन्नुहुन्छ ‘इच्छा भएर पनि पढन पाएकी थिइन्, अहिले सिक्दै छु ।’

अहिले फोटो हेरेर फोन गर्छु उहाँले भन्नुभयो अक्षर चिनेपछि विदेश भएका छोरालाई आफैले नाम चिनेर फोन गर्ने इच्छा छ । छोराछोरीले पढ्लान भनेर काठेखोलाबाट ढुङ्गा र रेशबाट काठ बोकेर बनाएको विद्यालयमा आफैले पढन पाउँदा मञ्जु कार्की दंग हुनुहुन्छ । ७४ वर्षको उमेरमा किताब कापी बोकेर विद्यालय जाँदा फुरुङ्ग कार्की धुलोमैलो र माटाको स्कुल अहिले सिमेन्ट र कार्पेट ओच्छ्याउँदा पनि विद्यार्थी नभएको प्रति भने चिन्ता गर्नु हुन्छ । कक्षा ३ सम्म अध्यापन हुने विद्यालमा अहिले जम्मा १६ जना विद्यार्थी छन् । १० जना आमाहरु थपिएपछि २६ जना पुगेका छन् । विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका बोर्डिङमा विद्यालय पढ्छन् । विद्यालयमा विद्यार्थी नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णयनै गरेर अभिभावक पढाउन सुरु गरेको हो ।

ससुरा लालबहादुर खत्री लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालय विद्यार्थी नभएर बन्द हुने स्थितीमा पुगेपछि विद्यालय जोगाउनका लागि आफैले पढन सुरु गरेको ६० वर्षीया मिना कुमारी खत्रीले बताउनु भयो । अक्षर नचिनेका आमाहरुलाई पढ्ने लेख्ने बनाउनु राम्रो काम भएपनि पढ्ने उमेरका बालबालिका विद्यालयमा नहुनु भने दुखद् रहेको विद्यालयका प्रधानध्यापक सरिता उप्रेती पाण्डेले बताउनु हुन्छ । बालशिक्षामा वर्षनी १२ जना भन्दा बढी बालबालिका भर्ना भएपनि १ कक्षा पुग्ने बेला शून्य हुन थालेको उहाँको भनाई छ ।

‘घरघरमै मन्टेश्वरी र बोर्डिङका गाडी आउछन्, हामित धरालो मात्र भएका छौँ,’ प्रधानध्यापक पाण्डेले भन्नुभयो ‘वर्षभरी बालबच्चा हेर्याे, विद्यालय आउने बानी बसाल्यो, उनिहरुको सरसफाई गर्याे माया गर्याे, पढाउने लेखाउने र हाम्रो क्षमता देखाउने बेला अभिभावकले छोराछोरी बोर्डिङ लैजानु हुन्छ ।’

‘आमा शिक्षा कार्यक्रम’ निरक्षर आमाहरुलाई साक्षर बनाउने कार्यक्रम मात्र होइन्,’ पाण्डेले भन्नुभयो ‘हामिप्रति अभिभावकको विश्वास जगाउने कार्यक्रम पनि हो ।’ ‘हामी अङ्ग्रेजी माध्यममै पढाउछौँ, बार्डिङको भन्दा राम्रो पढाउँछौ भन्दा पनि छोराछोरी मन्टेश्वरी र बोर्डिङ पठाउने अभिभावकलाई निशुल्क यहि राम्रो पढाई हुँदो रहेछ भन्ने जानकारी दिने माध्यम हो ।’

यो पनि पढ्नुहोस्