अध्यागमनमा डरलाग्दो सेटिङ र सरकार

सम्पादकीय
कहिलेकाहीँ त अचम्म लाग्छ, कि यो देश कसरी चलिरहेको छ ? मुलुकमा विधि, व्यवस्था, प्रणाली, नियम कानुन त छ तर, त्यसको कार्यान्वयनमा कुन हद सम्मको उदासिनता छ ? सरकार राजनीतिक दल, नेता, राष्ट्रसेवक कर्मचारीले चलाइरहेका छन् कि दलाल, तस्करहरुले चलाइरहेका छन् ? केही घटनाक्रम हेर्ने हो भने सोचनीय बनाउँछ । पछिल्लो केही दिन यता सिंगो देश तरंगित बनिरहेको भिजिट भिसा प्रकरणले पनि देशको यही चरम बेथितिलाई औंल्याउँछ । भिजिट भिसाको आवरणमा संगठित ‘धन्दा’ चलिरहेको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट नेपाली मात्रै होइन, भारतीय नागरिकको समेत तस्करी हुने गरेको खुलासा भएको छ । पछिल्लो ६ महिनामा मात्रै ‘मोस्ट वान्टेड’सहित करिब एक हजार शंकास्पद भारतीयले तेस्रो मुलुक यात्रा गरेको देखिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील स्थानबाट यी र यस्ता घटना कसरी सम्भव छ ? जबकि ‘मोस्ट वान्टेड’सहित करिब एक हजार जना भारतीय दूतावासको नो अब्जेक्सन लेटर (एनओसी)विना नै उडाइएको अनुसन्धानबाट पुष्टि भइसकेको छ । भारतमा फरार रहेकादेखि शंकास्पद व्यक्तिहरूलाई सेटिङका आधारमा नेपालबाट तेस्रो देश जान दिने आखिर को हुन् त ? तत्कालीन अध्यागमन प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराईसहितको सेटिङमा मात्रै हो कि ? अहिले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरु मात्रै छन् कि मन्त्रालय, नेता र अरुको संलग्नता छ ? एयरपोर्टमा यो घटना एक र पहिलो मात्र होइन र सुन तस्करी मुद्दामा कालोसूचीमा रहेका दुई भारतीयलाई विदेश जान अनुमति दिइएको यसअघि नै पुष्टि भइसकेको छ ।

भारतीय नागरिकहरूलाई नेपालबाट तेस्रो देश जानका लागि काठमाडौं स्थित भारतीय दूतावासले जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य हुन्छ । तर, नेपाल अध्यागमनबाट एनओसी विना नै धेरै भारतीय नेपालको तेस्रो देश पु¥याउने कार्य गम्भीर अपराध हो । यसमा केवल अध्यागमनका एक दुई कर्मचारी मात्रको संलग्नताले यो सम्भव हुँदैन । माथिल्लो निकायदेखि अध्यागमनको ड्युटीमा खटिने कर्मचारीसम्मको मिलोमतो भएको हुनु पर्दछ । अध्यागमनका कर्मचारीले सेटिङका आधारमा लाखौँ पैसा लिएर यस्तो कार्य गरेको अनुसन्धानबाट पुष्टि पनि भइसकेको छ । अध्यागमनमा गएयता दिनमै औसत ५० लाख रुपैयाँ घुस असुली हुने गरेको थियो । यस विषयमा पनि आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ । अहिले भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन अधिकृत भट्टराइ यसअघिको सुन तस्करी मुद्दामा कालोसूचीमा रहेका दुई भारतीयलाई विदेश जान अनुमति दिइएको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । यद्यपि, यसमा अध्यागमन विभागले छानबिन समेत गरेकोमा दोषी कर्मचारीलाई जोगाउने काम भएको थियो । यस घटनाले मानव तस्कर, यसमा अध्यागमनमा हुने सेटिङको पर्दाफास भएको छ । यसमा संलग्नहरुको यथेष्ट अनुसन्धान, पहिचान र कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्