आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिकाको आयोजनामा जेठ १४ गतेदेखि सुरु भएको महिलाहरुका लागि १५ दिने फोटो तथा भिडियोग्राफि तालिम बिहीबार सम्पन्न भएको छ ।
बागलुङ नगरपालिकाका महिलालाई व्यवसायिक बनाउनका लागि सिप सिकाएर दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको तालिमबाट १८ जना महिला लाभन्वित भएका छन् ।
तालिमको समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले महिलालाई प्रविधिमा दक्ष बनाएर आत्मनिर्भर बनाउने उद्देश्यका तालिमको आयोजना गरेको भन्दै तालिममा सिकेको सिपलाई प्रयोग गरेर व्यवसायिक बन्न आग्रह गर्नु भएको थियो । उहाँले महिलालाई समयानुकुल दक्ष र आत्मनिर्भर बनाउन, सशक्तिकरण र नेतृत्व विकास गराउनका लागि नगरपालिका सधै तत्पर रहेको बताउनु भएको थियो ।
१५ दिनसम्म सञ्चालन भएको तालिममा फोटो पत्रकार किशोर श्रेष्ठले प्रशिक्षण गर्नु भएको थियो । फोटो पत्रकार कविन्द्र शाक्य, सिर्जना पन्त र किरण आचार्यले सहजीकरण गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको अध्यक्षतामा भएको तालिमको समापन समारोहको सञ्चालन बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यले सञ्चालन गर्नु भएको थियो ।