आदर्श सञ्चार, बागलुङ
पतञ्जली योग समिति बागलुङले ११ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा बागलुङका दुई विद्यालयमा योग प्रशिक्षण गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र वडा नम्बर ४ उपल्लाचौरमा रहेको धौलागिरी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी माझ एक दिने एक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका विद्यार्थीलाई पतञ्जली योग समिति बागलुङका प्रभारी हिराबहादुर केसी, संगठनमन्त्री अमृत कंडेल, मिडिया प्रभारी सिर्जना पन्त र सदस्य लक्ष्मी बास्कोटाले प्रशिक्षण दिनु भएको थियो । चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यनरत ८१ जना विद्यार्थीलाई विद्यालयको पाठ्यक्रममै रहेका योग आसन तथा प्रणायम गराइएको थियो ।
त्यसैगरी धौलागिरी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठ, मिडिया प्रभारी सिर्जना पन्त, सदस्य लक्ष्मी बास्कोटा, अञ्जु विक र कमला मल्ल प्रशिक्षण दिनु भएको थियो ।
कक्षा ५ देखि १० सम्मका ९० जना विद्यार्थी सहभागी भएका थिए । दुवै विद्यालयका विद्यार्थीलाई योगको महत्व, सूर्य नमस्कार, त्रिकोणासन, वक्रासन, उष्ट्रासन, मण्डूकासन, सेतुबन्धासन, नौकासन, मर्कटासन, मकरासन, शलभानि, धनुरासन, सर्वाङ्गासन, शसकासन र शवासनसँगै भ्रामरी, अनुलोम विलोम, कपालभाति र भस्त्रिका लगाएतका प्रणायम समेत गराइएको महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठले बताउनु भयो ।
हरेक वर्ष २१ जुन असार ७ गते मनाउँदै आइएको अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि सप्ताहव्यापी कार्यक्रम गरेर मनाईदै छ । पहिलो र दोस्रो दिन राधाकृष्ण मन्दिर साधना केन्द्र र उपल्लाचौर साधाना केन्द्रमा योग अभ्यास, तेस्रो दिन बागलुङ नगरपालिका १ निरयघाटमा रहेको रामनुज आश्रममा खाद्यन्न सहयोगसँगै कालिगण्डकी स्नान, योग, ध्यान, प्रणायम र सरसफाइ कार्यक्रम गरेको पतञ्जलिले चौथो दिन विदार्थीलाई योग प्रशिक्षण गरेको हो ।
चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङका प्रिन्सिपल नवराज श्रेष्ठ र धौलागिरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल गणेश पौडेलले योग, ध्यान र प्रणायमले विद्यार्थीको सिर्जनशिलता, क्रियाशिलता, आत्मनुशासन र मानसिक स्वास्थ्यमा समेत सकरात्मक प्रभाव पार्ने भएकाले आफ्ना विद्यालयका विद्यार्थी बिच योग प्रशिक्षण गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।