डम्मर बुढामगर, बागलुङ
बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिदै गएका छन् भने घर जीर्ण बन्दै गएका छन् । सेवा सुविधाको खोजीमा गाउँबाट सहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ ।
जैमिनीबाट पछिल्लो दुई वर्षमा ४८२ घर परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । वि.सं. २०८० सालमा २६३ घर परिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने वि.सं. २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घर परिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । वि.सं. २०८० वर्ष ९ परिवारका ४२ जना आए र वि.सं.२०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।
जैमिनी नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ र कम वडा नम्बर ६ बाट बसाइँसराइ भएको छ । वडा नम्बर ८ बाट दुई वर्षको अवधिमा १०७ घर परिवारबाट ४०३ जनाले बसाइँसरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ बाट ४२ घरका १५७ जना, वडा नम्बर २ बाट ७७ घरका २५८ जना, वडा नम्बर ३ बाट ३४ घरका १०० जना, वडा नम्बर ४ बाट ५२ घरका १९१ जनाले बसाइँसराइ गरेका छन् ।
वडा नम्बर ५ बाट २४ घरका ८३ जना, वडा नम्बर ६ बाट १४ घरका ५५ जना, वडा नम्बर ७ बाट ५४ घरका १८६ जना, वडा नम्बर ९ बाट ३९ घरका १२९ जना र वडा नम्बर १० बाट ३९ घरका १४७ जनाले बसाइँसराइ गरेको पौडेलले बताउनुभयो । जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवलमा गएको उहाँको भनाइ छ ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई गाउँमै उद्यमी बनाउने र आत्मनिरर्भ बनाउने खालका कार्यक्रम संचालन गरि रहेको बताउनुभयो । बस्तीबस्तीसम्म सडक, खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गरेको उहाँको भनाइ छ । गाउँमा ठूलो संभावना हुँदा हुँदै पनि धेरैले सहर बजार रोज्ने गरेको शर्मा बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “मानिसको चाहाना असीमित हुन्छन्, स्थानीय सरकारले गर्न सक्ने विकास गरि रहेका छौँ, पर्याप्त नहोला तर गाउँमा पहिलेको जस्तो विकास नपुगेको भन्ने छैन, जताततै अहिले गाडी गुड्छन्, खानेपानीको सुविधा छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी गरेका छौँ, हुने खानेहरु धेरैले सहर बजार रोज्न थाले, तर गाउँमा भएकालाई गुणस्तरीय सेवा प्रदान गर्न हामीहरु प्रतिबद्ध छौँ, नागरिकलाई उद्यमी बनाने र आय आर्जनसँग जोड्ने खालका कार्यक्रम पनि चलाइ रहेका छौँ ।”