बुर्तिबाङमा नयाँ सहर आयोजान : १२ वर्षकाे प्रगति न्यून

डम्मर बुढा मगर,बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमुना सहर बनाउने सरकारको आयोजना अनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन वि.सं. २०६९ सालमै घोषाण गरिएको थियो । आर्थिक वर्ष २०७२/०७३ सालमा सरकारले बजेट विनियोजननै गरेर काम अगाडि बढाएको थियो । आयोजानाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत रुपमा काम हुन सकेको छैन । ०६९ साल अगाडिनै बुर्तिबाङमा बजारको रुपमा स्थापित थियो ।

त्यसलाई थप व्यवस्थित गर्दै जाने भनिए पनि पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको देखिन्छ । वि.सं. २०६९ देखि २०९० सालसम्म काम आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो । आयोजान सुरु भएदेखि हालसम्म रु ७८ करोड बढी रकम सरकारले विनियोजन गरेको छ । त्यस मध्ये ५० करोड मात्रै खर्च भएको छ । नयाँ सहर आयोजनाले अझै थुप्रै पूर्वधारका क्षेत्रमा काम गर्न बाँकीनै छ ।

आयोजनाले हालसम्म १६.३ किलोमिटर सडक ढलान, ६.३ किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, २७२ स्थानमा सौर्य बत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरेको आयोजना कार्यालय सूचना अधिकारी कोमल शाहले जानकारी दिनुभयो । अहिले बसपार्क र टर्मिनल भवन निर्माणको भइरहेको उहाँको भनाइ छ । शाहले विनियोजित रकम । खर्चका आधारमा पाँच प्रतिशत मात्रै काम भएको बताउनुभयो ।

उहाँका अनुसार हाल तारीखेतदेखि कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलदेखि दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ । बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्र र नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार हो । बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ । नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतिकरण, खानेपानी, ढल निकासी लगायतको प्रबन्ध, उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजार लगायतका पूर्वधार निर्माण हुनु पर्ने भए पनि अझै धेरै काम गर्न बाँकी छ ।

यो आयोजानाका लागि ४० अर्बको काम हुनु पर्ने भए पनि एक एक अर्ब बजेटसमेत विनियोजन भएको छैन । नेपाल सरकारले हालसम्म आर्थिक वर्ष २०७२/०७३ मा चार करोड ४७ लाख सात हजार ५००, २०७३/०७४ मा आठ करोड २२ लाख ३० हजार ८७४, २०७४/०७५ मा १६ करोड ४० लाख २२ हजार ७३०, २०७५/०७६ मा १३ करोड छ हजार, २०७६/०७७ मा सात करोड ५७ लाख २४ हजार, २०७७/०७८ मा छ करोड ७३ लाख ६१ हजार, २०७८/०७९ मा १२ करोड छ लाख २३ हजार ३६, २०७९/०८० मा १८ करोड ३३ लाख ८७ हजार १६ २०८०/०८१ सात करोड ३३ लाख र चालु आर्थिक वर्षमा ९ करोड ९५ लाख बजेट विनियोजन भएको थियो ।

हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्य अनुसार काम गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । वर्षेनी करोडौँको बजेट नयाँ सहरका लागि आए पनि सोचे अनुसारको काम नभएको स्थानीय कुलमबहादुर घर्तीले बताउनुभयो । आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिएने गरि नभएको उहाँको भनाइ छ । आम नागरिकले बढी प्रयोग गर्ने सडक, खानेपानी र बसपार्क भएको भन्दै ति कुनै पनि पूर्वधार व्यवस्थित नभएको घर्तीले सुनाउनुभयो ।

उहाँले भन्नुभयो– “१०/१२ वर्ष भयो यो नयाँ सहरको काम सुरु भएको तर अहिलेसम्म गतिलो संरचना बनेको देखिदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ, ओहोरदोहोर गर्न गाह्रो छ, साँघुरौ सडकमा जोखिम मोलेर यात्रुहरु हिँड्छन्, फोहोर व्यवस्थापन पनि हुन सकेको छैन, काम गरेपछि त केही फरकपन हुनु पर्ने हो तर खास्सै केही परिवर्तन भएको छैन ।”

अझै चुरेलावासमा पुल, खेलमैदान, सडक, हाट बजार, कोल्ड स्टोर निर्माण लगायतका संरचनाहरु निर्माण गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्