श्रमिक महिला दिवसको सान्दर्भिकता

सम्पादकीय
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शनिवार देशभर मनाइयो । पहिले–पहिले सदरमुकाम केन्द्रित हुने दिवसको रौनकता पछिल्लो समय भने गाउँ–गाउँमा समेत पुगेको छ । मुलुकमा संघीय अभ्याससँगै बनेको तीन तहको सरकार, त्यसमा पनि स्थानीय तहमा समेत पालिका स्तर र स्थानीय राजनीतिक दल, आमा समूहले पनि दिवस विविध सचेतनामूलक कार्यक्रम सहित मनाएका छन् । धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङका ग्रामीण क्षेत्रहरुमा पनि दिवसका अवसरमा ¥याली लगायतका जनचेतनामूलक कार्यक्रम गरियो । जसले दुरदराजका क्षेत्रमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र महिला हक अधिकारबारे चेतना र जागरण पैदा गरिरहेको छ । जुन समतामूलक समाज निर्माणका लागि सकारात्मक उभार हो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने अन्तर्राष्ट्रिय नारी दिवसको पृष्ठभूमि आन्दोलनसँग जोडिएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । नेपाल सरकारले पनि नारी दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाउँदै गर्दा केही तथ्य, तथ्यांकले भने श्रमिक महिलाहरुको अवस्था अझै पनि कठिन अवस्था भएको प्रतीत हुन्छ । नेपालमा गत वर्ष ७ हजार ५ सय ८२ घरेलु हिंसाका घटना भएका छन् । जसमा ५ हजार ८ सय ७९ जना महिला प्रताडित भएका छन् । दाइजोजनित हिंसाका घटना २ सय ९, मानव बेचबिखन प्रयास २२, साइबर अपराध ३६६, बोक्सीको आरोप २९, बलात्कारपछि हत्या ७, परिवारजनबाट हत्या १ सय, बलात्कार ६६१ भएको छ । यसमा हाडनातामा बलात्कार २३, बैवाहिक बलात्का २३, सामूहिक बलात्कार २८, बलात्कार प्रयास १४४, यौन दुव्र्यवहार ३१, बेचबिखन प्रयास ६० वटा घटना भएको इन्सेकले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

यी घटना र तथ्यांकले महिला, त्यसमा पनि श्रमिक महिलाहरु आजको समय र व्यवस्थामा पनि कुनै न कुनै रुपमा प्रताडित छन् भन्ने देखिन्छ । व्यवस्था फेरिए पनि अवस्था र प्रवृत्ति नबदलिएको प्रष्ट हुन्छ । नेपालको सन्दर्भमा बलत्कार लगायतका कैैयौँ घटना अझै पनि बाहिर आउन सक्दैनन् । सार्वजनिक भएका घटनामा पनि तिब्र दबाब र आर्थिक चलखेल गरेर मिलापत्र गर्ने प्रवृत्ति व्याप्त छ । हाम्रो समाज अहिले पनि बलात्कार पीडितप्रति सकारात्मक छैन । पीडितलाई न्याय दिन उद्यत छैन । नेपालमा महिला अधिकारका सम्बन्धमा नीतिगत तथा कानुनी संरचनामा लोकतन्त्र स्थापनासँगै सुधार आएको त छ, यद्यपि, त्यो प्रयाप्त र कार्यान्वयनको प्रभावकारिता छैन । जसका कारण नेपालका महिला विभिन्न खाले संरचनात्मक एवं लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका तथ्याङ्कले देखाउँछ ।

अन्धविश्वास, परम्परागत सामाजिक संरचना, विभेदपूर्ण नीति, कानुन, कानुन कार्यान्वयन गर्ने निकायको लैङ्गिक जवाफदेहिता कमजोर हुनुलगायतका कारणले महिला हिंसा बढी सम्वेदनशील बन्न पुगेको छ । समाजबाट असुरक्षित हुनु भनेको प्रकारान्तरले घरैबाट असुरक्षित हुनु हो । महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन ।

यो पनि पढ्नुहोस्