वीरशाली पन्त

प्रा.डा. दिनबहादुर थापा 
धवलागिरि क्षेत्र आफैंमा विशिष्ट पहिचान र अनेकौं सम्भावना बोकेको भूगोल हो । यहाँको भाषा–साहित्य–संस्कृतिको मर्म, गौरवशाली इतिहासको महिमा, स्वायत्त पर्वत राज्य सञ्चालन प्रणाली, विद्वान्न्विदुषीहरूको सत्कर्म तथा कुशल राज्य सञ्चालकको योगदानको इतिहास खोज्न र लेख्न अझै बाँकी छ । विगतको इतिहास नकोट्याउँदासम्म वर्तमानले पूर्णता पाउँदैन र भविष्यको दिशाबोध हुन सक्दैन । यो क्षेत्रको वास्तविक इतिहास कोट्याउन विद्वान् पण्डित प्रेमनिधि पन्त र वीरशाली पन्तको बौद्धिक क्षमताको मापन गर्नसक्नु पर्दछ । यहाँ वीरशाली पन्तका विषयमा संक्षिप्त चर्चा गरिएको छ ।

नेपाली साहित्यको इतिहासमा प्राथमिककालीन साहित्यकारहरूमा प्रेमनिधि पन्त, हरिराम, उमापति, रमापति, शिवराम, भवदत्त, व्यासदत्त, सुकृतिदत्त, देवीदत्त, वीरशाली पन्त आदिको नाम आउँछ । यिनीहरू को थिए र नेपाली साहित्यमा केकति योगदान पु¥याएका थिए भन्ने विषयको खोजी हुनै बाँकी छ । तत्कालीन पर्वत राज्यका राजा मलेबमले प्रेमनिधि पन्तलाई आफ्नो दरबारमा राखेर प्रायश्चित्त प्रदीप, भक्तितरङ्गिणी, काम्यदीपदान पद्धति, घृतदान पद्धति, श्राद्धकर्म पद्धति, कुमारीशक्तिलगायत दुई दर्जनभन्दा बढी पुस्तकहरु लेख्ने प्रबन्ध मिलाएका थिए भनिन्छ । यी ग्रन्थहरुमा राजाको वंशावली, शासकको स्तुतिगान, भजनकृतन, कर्मकाण्ड र दानदातव्य विधिपद्धतिका विषयमा चर्चा गरिएको छ ।

नेपाली साहित्यको पहिलो टीका मानिने प्रायश्चित्त प्रदीप (१७८०) हाल राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । यसमा श्राद्धकर्मपद्धति र दान प्रथालाई विषयवस्तु बनाइएको छ । संस्कृत भाषामा लेखिएको मल्लादर्श पनि उनै प्रेमनिधि पन्तले लेखेका हुन् । यसमा मल्लहरुको इतिहासको वर्णन गर्दै श्लोक तीनमा प्रेमनिधि पन्त आफैले आफ्ना बारेमा आफू कुमाउ निवासी बाबु उमापति र आमा उद्द्योतमतिका सन्तान भएको र कृतिको रचना समय शक संवत् १६४८ (तेनाष्टाब्धिषडिन्दुशाक) भएको समेत उल्लेख गरेका छन् (थापा, २०६६) । स्वामी प्रपन्नाचार्यद्वारा सम्पादित (२०५१) सुकीर्तिदत्त पन्तको) कार्तोविर्योदय महाकाव्यको भूमिकामा आफैं प्रपन्नाचार्यले राजा मलेबमलाई विद्वत्प्रिय, धर्मात्मा, दानी, न्यायकारी विद्वान् राजा थिए भन्दै उहिलेको पर्वत र बागलुङलाई अपरकाशीको संज्ञा दिएका छन् । यी भनाइबाट पनि उहिलेदेखिनै साहित्य र इतिहासप्रतिको मोह यो क्षेत्रमा थियो र विद्वानको कदर राजामहाराजबाट पनि हुन्थ्यो भन्न सकिन्छ ।

धवलागिरि क्षेत्रलाई पृष्ठाधार बनाएर लेखिएका प्राथमिक कालीन साहित्यको खोजी गर्दै जाँदा वीरशाली पन्त यस क्षेत्र (बागलुङ मूलपानी) का महाकवि हुन् भनिन्छ । हाम्रा प्राथमिककालीन कविहरुको पङ्क्तिमा उनको नाम निक्कै चर्चामा आउँछ । प्रेम छोटाद्वारा सम्पादित पछिल्लो कृति प्राथमिककालीन पुराना कवि वीरशाली पन्त मा वाणोपनिषद, विमलबोधानुभव’, ‘गोपिका स्तुति, ’द्रौपदी विलाप, ’कृष्ण चरित्र’ लगायतका काव्यहरु उनै वीरशाली पन्तद्वारा लेखिएका हुन् भनिएकोछ (छोटा, २०६२, पृ. १२) । उनले लेखेका धेरै ग्रन्थहरू भारतीय विश्वविद्यालयहरूमा रहेका छन् भनिन्छ । उनका यी सबै कृतिहरूको समग्र अध्ययन भने भइसकेको छैन ।

लक्ष्मीदत्त पन्त इन्दु लाई कतै वीरशाली पन्तपूर्व नै कुमाउतिर बाटै आएर म्याग्दीको दानामा बसी पुराण, धर्मशास्त्र र तन्त्रशास्त्रका ग्रन्थ लेखन कार्य गरेका थिए पनि भनिएको छ भने कतै बनारसमा बसेर मोतीमण्डलीमा समावेश भएका थिए भनिएको छ । भ्रमर चम्पक संवाद, दक्षिणकालीका स्तुति, वैराग्य दर्पण र मोतीराम भट्टको जीवनी उनैले लेखेका हुन् भनिएको छ (पौड्याल, २०८० पृ. ४) । उनी जोजहाँका भए पनि धवलागिरि क्षेत्रको साहित्यिक योगदान पुयाउने व्यक्तिहरुमध्ये वीरशाली पन्तपछि यिनै लक्ष्मीदत्त र सुकीर्तिदत्त पन्तको नाम अग्रस्थानमा पर्दछ ।

वीरशाली पन्तको जन्म वि.सं. १८४९ मा बागलुङको कतै ढिकीचौर त कतै गैहगाउँमा भएको थियो भनिन्छ । उनले नेपाली र संस्कृत दुवै भाषामा कविता र महाकाव्य लेखेको थिए भनिन्छ । उनलाई नेपाली साहित्यको इतिहासमा प्राथमिककालीन कवि तथा भानुभक्तभन्दा पुराना कविका नामले चिनिन्छ । उनका विषयमा शिरोमणि बाबुराम आचार्य, वीरेन्द्रकेशरी अर्याल, कमल दीक्षित, सूर्यविक्रम ज्ञवाली, राजाराम सुवेदी, शास्त्रदत्त पन्त, बालकृष्ण नेभा, काजीरोशन र प्रेम छोटालगायत धेरैले चर्चा गरेका छन् । तर पन्तका ठोस कृतिहरू र जन्म तिथिमितिमा एउटै भनाइ आउन सकेको छैन । तारानाथ शर्माले नेपाली साहित्यको ऐतिहासिक परिचय’ मा वीरशाली पन्तको जन्म वि.सं. १८६० उल्लेख गरेका छन् । बालकृष्ण पोखरेलले वीरशाली पन्तकै नामबाट अठासी सिलोके विमलयोधानुभव कविता प्रकाशनमा ल्याएका छन् ।

काजी रोशनले कृष्ण चरित्र महाकाव्य ६ हजार श्लोक संस्कृतमा र ६ हजार श्लोक नेपाली भाषामा भएको र उक्त कृतिको एक तृतीयांश बालकृष्ण समसँग, एक तृतीयांश ढुण्डिराज शर्मा (गुल्मी) सँग र एक तृतीयांश उदयराज पन्तसँग रहेको सङ्केत गरेका छन् (राजाराम सुवेदीको भनाइ) । उनी गुल्मी रेसुङ्गाका स्वामी शशिधरको संगतबाट ज्ञान प्राप्त गरेका थिए भनिन्छ । उनी बालब्रह्मचारी थिए र जीवनको उत्तरार्धमा भारतको वृन्दावनमा बसोबास गर्थे भनिन्छ । उनका समग्र विषयमा तथ्यपरक अनुसन्धान नगरेसम्म यही हो भन्न सक्ने अवस्था देखिदैन । उनको जीवनी, व्यक्तित्व र कृतित्व अनुसन्धानका लागि नयाँ विषय बन्न सक्छ ।

वीरशाली पन्तका अप्रमाणित तर अनुसन्धानको गर्भमा रहेका केही नयाँ विषयहरू पनि चर्चाको विषय बनाइएको छ । वीरशाली पन्त बालब्रह्मचारी थिए, उनी आँसु कवि थिए, कवितामै सवालजवाफ गर्नसक्थे, विवाहको सिलोक प्रतियोगिता (जन्ती र माइतीबीच) मा सधैं विजयी हुन्थे, उनले जातपात र छुवाछुत मान्दैन्थे, जन्म घर गैरगाउँ भए पनि कालिकादेवीको मन्दिर नजिकै पर्ने खुन्दुके (मालढुङ्गा) माईकुटीको आश्रममा बस्थे, वैष्णव मार्गी थिए, जीवनको उत्तराद्धेमा सांसारिक मोहबाट सन्यास लिइ शेष जीवन भारतको वृन्दावनमा व्यतीत गरे आदि भनाइहरू पनि सुन्न र पढ्न पाइन्छ । अर्को एक अभिलेखमा स्वस्तिश्री सम्वत् १८९६ साल मिति माघ वदी ५ रोज ५ मा लिखितं वीरशाली पंडित आगे गावको घडेरीको वारी हाम्रो अंश श्री काकाज्यू हर्षदेव पन्त–३– को जफती छज्याल दस्तुर तीरि चलन गर्नु भन्ने व्यहोराको प्रमाण पनि भेटिएको छ । यो अभिलेखबाट पनि उनी गैह्रगाउँ निवासी भएको र वि.सं. १८९६ मा आफ्नो पैतृक सम्पत्ति काकालाई बुझाएको भन्ने अर्थ लाग्छ । विद्वान् शास्त्रदत्त पन्त (२०६४) का अनुसार पनि उनी विवाह नगरी ब्रह्मचारी रहेको र पछि सन्यास लिएको बुझिन्छ (पृ. १८१) ।

समग्रमा पन्तहरूको बसाइँ सराइको इतिहासलाई हेर्दा पन्तहरू प्रथम चरणमा ककेसियाबाट दोस्रो चरणमा सिन्ध (महाराष्ट्र) राज्यमा, तेस्रो चरणमा दक्षिण भारत, चौथो चरणमा उत्तराञ्चलमा पर्ने कुमाउँ, गढवालमा र पाचौं चरणमा कुमाउँबाट मुक्तिनाथको दर्शन गर्ने क्रममा तत्कालीन पर्वत राज्यका राजाको सम्पर्कमा आएपछि बागलुङको गैह्रागाउँमा बसोबास गर्न थालेको बुझिन्छ (पन्त, २०६४, पृ.५९–६४) । यिनै सिन्ध घाँटीबाट आएका ब्राह्मणहरूलाई दक्षिण भारतमा आइपुग्दा हिन्दु भनिएको हो भन्ने उनको तर्क छ ।

बागलुङका पन्तहरूका विषयमा भूपनिधि पन्त (२०६४) को भनाइ यस प्रकार रहेको छ :
नेपालको एकीकरण हुनुभन्दा अघि नै हाम्रा पिता पूर्खाहरू तीर्थयात्रीको रूपमा वा आफ्नो धर्मको प्रतिरक्षा गर्ने सिलसिलामा वर्तमान नेपालको मध्यभाग पाल्पा हुँदै मुक्तिनाथलाई लक्ष्य गरेर पवित्र कृष्णगण्डकीको किनारकिनारै बागलुङमा प्रवेश गरेको पाइन्छ । तत्कालीन मल्ल राजाहरूको आग्रह र अनुरोधमा सर्वप्रथम पन्तहरूले बागलुङको गैरगाउँमा बसोबास गरेको अभिलेख हामीले पाएका छौं । उक्त वंशका पुर्खाहरूमा पण्डित वीरशाली पन्त, प्रेमनिधि पन्त र सुकृतिदत्त पन्तको नाम संस्कृत एवं नेपाली भाषा र साहित्यको क्षेत्रमा सम्मानपूर्वक लिइने गरेको छ । यसरी समग्रमा हेर्दा बागलुङवासी पन्तहरूको नेपाली भाषासाहित्यको विकासमा ठूलो योगदान रहेको देखिन्छ । उनीहरूको बागलुङमा आगमनको स्रोत कुर्माञ्चल अर्थात कुमाउँगढवालतिरैबाट भएको देखिन्छ ।

वीरशाली पन्तका पूर्खाहरू पनि उतैबाट आएका हुन् । पन्तको वंशावलीअनुसार पनि भगीरथ पन्तका छोरा गौरीश्वर, उनैका छोरा महेश्वर र महेश्वरका काहिला छोरा वीरशाली पन्त भएको उल्लेख गरिएको छ । वीरशाली पन्तका विषयमा धेरैले चर्चा गरेका छन् तर ठोस आधार र तर्कहरू भने भेटिदैनन् । यस विषयमा थप गहन अध्ययन र अनुसन्धानको अभिभारा आगामी दिनमा ’वीरशाली पन्त स्मृति कोष (२०७९), बानपा, गण्डकी प्रदेशले गर्दै जानेछ । अन्त्यमा वीरशाली पन्त स्मृति गौरवशाली पुरस्कारबाट सम्मान तथा पुरस्कृत गरी मलाई यस विषयमा अध्ययनका लागि थप उत्प्रेरणा जगाइदिनु भएकामा स्मृति कोष परिवार, आजका प्रमुख अतिथि र आयोजक सममितिलाई विशेष आभारसहित संस्थाको उत्तरोत्तर कामनाका साथ धन्यवाद दिन चाहन्छु ।

यो पनि पढ्नुहोस्