प्रिमनसुन, जोखिम र पूर्ववत सचेतता

सम्पादकीय
यस वर्षको प्रिमनसुन चलिरहेको छ । प्रिमनसुन अवधि भन्नाले मार्च, अप्रिल र मे महिनालाई बुझाउँछ । संघीय राजधानी सहित देशका बिभिन्न स्थानमा दैनिकजसो वर्षा भइरहेको छ । प्रिमनसुनको सिजनल हेर्दाखेरि १०७.५ प्रतिशत वर्षा भएको छ । यो भनेको सरदर वर्षा हो । प्रिमनसुन अवधिका तीन महिनामध्ये मार्चमा खासै पानी नपरे पनि त्यसपछिका अप्रिल र मेमा राम्रो वर्षा भएको छ । सरदर वर्षाले पनि विभिन्न जिल्लामा बाढी र पहिरो गएका समाचार सार्वजनिक भइरहेका छन् । केही दिनयता बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु, पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावले पानी परिरहेको छ । नेपालमा प्रिमनसुन अवधिमा ९० देखि ११० मिलिमिटरसम्म वर्षा हुनुलाई सरदर मानिन्छ । तर आजसम्मको अवधिमा १०७.५ मिलिमिटरसम्म वर्षा भएको छ ।

प्रिमनसुनमा वर्षा हुँदा यसले बालीनालीमा टेवा पुगेको भन्दै किसानहरु खुशी भए । तर, यही समयमा भएको वर्षाकै कारण कयौं स्थानमा डुबानको अवस्था देखियो भने सडक हिलाम्य हुने, भासिने, पहिरो जाने, दुर्घटनाहरु भएको पनि देखियो । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले बेल्टार फर्किने गत सोमवार राति जन्ती पु¥याएर फर्किएको बस बगायो । सौभाग्यवस यसले मानवीय क्षति भएन । पानी परेसँगै निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको दाउन्ने खण्डमा बाटो बिग्रिँदा घण्टौं जाममा फस्नु परिरहेको छ । यही २१ वैशाखमा काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथमा पर्ने बागमती खोलामा बाढीले ह्युमपाइप बगाउँदा बाटो अवरुद्ध बन्यो । मंगलबारको वर्षापछि बिष्णुमति करिडोर अन्तर्गत कन्केश्वर सडकमा पानी जम्दा सवारीसाधन आउजाउ प्रभावित भयो । यी त अहिलेको ताजा प्रतिनिधि घटना भए । यहाँ उल्लेख नभएका देशका बिभिन्न स्थानमा प्रिमनसुनमै यस्तै घटना, परिघटनाहरु भएका छन्, जसले भोलिका दिनमा वर्षा शुरु हुँदै गर्दा थप जोखिम र खतराको प्रष्ट संकेत गर्छन् । जबकि गत वर्ष भत्किएका सडक र पुल पुलेसाहरू पुनर्निर्माणको काम सकिएको छैन । प्रिमनसुन अवधिमा परेको पानीले बाटो भत्किन सुरु भइसकेको छ । मनसुन अवधिमा झन् बढी प्राकृतिक प्रकोपको जोखिम हुने चिन्ता खतरालाई नजर अन्दाज गर्न हुँदैन ।

प्रिमनसुन त अहिले सरदरमा छ । मनसुनको सम्भावित अवस्थाबारे जल तथा मौसम विज्ञान विभागले आगामी जेठ पहिलो साता मनसुन प्रक्षेपण सार्वजनिक गर्ने तयारी छ । तर, दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले यस वर्षको मनसुन अवधिमा नेपालमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखाएको छ । सास्कोफले तयार पारेको नक्सामा पूर्वमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै र सुदूरपश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । मनसुनमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण छ । भलै प्रिमनसुनको वर्षा वा खडेरीले मनसुनमा गर्ने संकेतबारे नेपाल छुट्टै अध्ययन भएको छैन । त्यसैले अहिलेको प्रिमनसुनमा परेको पानीले मनसुन कस्तो होला भनेर भन्न सकिने अवस्था छैन । मनसुनमा नेपालमा वर्षभरि हुने वर्षाको ७० देखि ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । नेपालको भुबनोटका हिसाबले पनि मनसुन र प्रिमनसुन अवधिमा वर्षा राम्रो हुँदा खेतीपाती सप्रिए पनि बाढी, पहिरो र डुबानको जोखिम अधिक हुने गर्छ । अहिलेदेखि प्रिमनसुनका संकेत र सकसबाट पाठ सिकेर समयमै बर्षासँगै आउने बाढी, विपद्बाट जोगिने पूर्ववत तयारी र सतर्कता अपनाउनु तीन तहको सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन ।

यो पनि पढ्नुहोस्