भारत–पाकिस्तान युद्धमा विराम !

सम्पादकीय
भारत–पाकिस्तानबीच केही दिन यता जारी युद्धले दुई देश बिच मात्र तनाव सिर्जना गरेन, नेपाल सहित सिंगो विश्व समुदायलाई आतंकित तुल्यायो । कारण दुई देश बिचको आन्तरिक विषय, प्रतिशोध र तनाव भए पनि यसका बहुआयामिक प्रभाव र असर नेपालमा त प्रत्यक्ष रुपमा पर्ने नै भयो, विश्वका अधिक देशमा दुई देशको युद्धको असर पर्ने निश्चित प्रायः थियो । युद्धमा रकेट आक्रमणका कारण भारत र पाकिस्तानका कैयन सैनिक र सर्वसाधारणको ज्यान गएको छ । हलगाममा उग्रवादीहरूले गत एप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि बुधवार बिहान भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँलाई लक्ष्यित गर्दै हवाई आक्रमणहरू गरेको थियो । पाकिस्तानले आफ्नोतर्फ ३१ जनाको ज्यान गएको र ५७ जना घाइते भएको उल्लेख गरेको छ । भारत पाकिस्तानबीचको सीमा क्षेत्र लाइन अफ कन्ट्रोलमा भएको पाकिस्तानी गोलाबारीमा कम्तीमा १५ जना मारिएका भारतले बताएको छ । युद्ध चर्किदै जान थाले पछि जनजीवन भयभित बनेको छ भने जम्मु काश्मिर लगायतका स्थान छोडेर आफ्नो जन्मस्थल जानेको भिडभाड निकै बढेको छ । यद्यपि, शनिवार साँझ नै दुई बिच युद्धबिराम भएको खबर सार्वजनिक भएको छ ।

भारत र पाकिस्तान बिचको युद्धको प्रारम्भमै एक अर्का प्रतिको रकेट आक्रमणबाट अर्बौको भौतिक क्षति भइसकेको छ भने दर्जनौ व्यक्तिले ज्यान गुमाइसकेका छन् । युद्ध लम्बिनु भनेको अरु सयौं मानिसहरुको ज्यान जाने मात्रै होइन, परिवारले अभिभावक गुमाउने, अंगभंग, क्षति हुनेको हिसाब किताव छैन । त्यसले अर्थतन्त्रमा पार्ने प्रभावको त कुनै हिसाब छैन । युद्ध शुरु भएपछिको केही दिन यताको अवस्था हेर्ने हो भने मात्रै पनि कहालीलाग्दो अवस्था देखिन्छ । यो लम्बिदै जाँदा हुन सक्ने क्षति, संकटबारे बिभिन्न आँकलन अनुमानहरु हुँदै गर्दा एक सुखद खबर शनिवार साँझ सार्वजनिक भएको छ । भारत पाकिस्तान बिचको यद्धुमा तत्कालका लागि युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुने गरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेको र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । जसअनुसार, अब स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ । दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ । यद्यपि, यस सहमतिका बाबजुद पाकिस्तानले राति पुनः हवाई आक्रमण गरेको भारतले आरोप लगाएको छ ।

युद्ध आफैमा राम्रो कुरा होइन । यसले निम्त्याउने क्षति भयानक र भयावह हुन्छ । भारत पाकिस्तान बिचको युद्धका कारण दुबै देशले केही दिनमै ठुलो क्षति बेहोरिसकेका छन् । युद्ध हुनु भारत पाकिस्तान दुबैका लागि राम्रो होइन । यसले दुबै देशको जनधनको क्षतिका साथै अर्थतन्त्र पनि तहसनहस हुन्छ । जुन पुर्तिका लागि फेरि देशले वर्षौ कुर्बानी गर्नुपर्ने अवस्था हुन्छ । दुई परमाणु अस्त्रसम्पन्न देशबीचको तनाव पूर्णयुद्धको स्तरमा विस्तार भएको खण्डमा भारतसँग खुला सिमाना भएको नेपाल त्यसबाट जोगिनु जहिले पनि चुनौतीपूर्ण हुन्छ । नेपाली भूमिको दुरुपयोग हुनसक्ने जोखिमका कारण भूराजनीतिक असरहरू समेत देखा पर्न सक्ने भएकाले यसमा नेपाल सरकार विशेषतः सचेत र गम्भिर बन्न आवश्यक छ । हाम्रो जस्तो भूराजनीतिक अवस्थामा भएको देशलाई यस्तो परिस्थिति आयो भने के गर्ने भनेर तयारी ‘रिहर्सल’ गर्ने समयको रुपमा अहिलेको भारत पाकिस्तान युद्धलाई लिनु पर्छ ।

यो पनि पढ्नुहोस्