सम्पादकीय
अन्तर्राष्ट्रिय नर्स दिवस, सोमवार विश्वभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपालमा पनि नर्सहरुले आफ्नो अधिकारको माग सहित बिभिन्न स्थानमा दिवस मनाए । यसरी दिवस मनाइरहँदा नेपालमा भने नर्सहरुको अवस्था साँच्चिकै सोचनीय अवस्थामा छ । नेपालमा नर्सहरूको तलब उनीहरूले गर्ने कामको भारसँग तुलनै गर्न नसकिने गरी न्यून छ । ८–१२ घण्टाको शिफ्ट, रातभर बिरामीको सेवा, इमरजेन्सी, आइसियू, अपरेशन रूम, मानसिक दबाब तिब्र हुन्छ । तर तलब भने १५–२५ हजार रुपैयाँ, कहिलेकाहीँ त्यो भन्दा पनि कम हुन्छ । अझ निजी अस्पतालमा त तलब पाउने ग्यारेन्टी नै नभएको अवस्था बिद्यमान छ । यही कारण नर्सहरु विदेश पलायनको तीव्रतामा छन् ।
विदेश पलायनको नर्सहरुको पछिल्लो तथ्यांकले झस्काउँछ । हाल देशमा रहेका अधिकांश स्वास्थ्य संस्थामै नर्सिङ जनशक्ति अभाव रहेको स्वयं स्वास्थ्य मन्त्रालय स्विकार्छ । सरकारी र निजी ती स्वास्थ्य संस्थामा ६५ हजार नर्स आवश्यक रहेकामा हाल ५० हजार पाँच सय मात्रै रहेको मन्त्रालयको रिपोर्ट छ । यो आवश्यक जनशक्तिमा १४ हजार पाँच सयले कम हो । स्वास्थ्य मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार ०५९ देखि ०८१ चैतसम्म ४५ हजार ४०० नर्सले विदेश जान एनओसी लिएका छन् । एनओसी लिएकामध्ये कति विदेश गए भन्ने तथ्यांक भने मन्त्रालयसँग छैन, तर अपवाद बाहेक सबैजसो विदेशिएका छन् । भक्तपुर सानोठिमीस्थित एनओसी कार्यालयका अनुसार सबैभन्दा धेरै नर्स युके, जापान, अस्ट्रेलिया, क्यानडालगायत देश पुग्छन् । ती देशहरूमा नर्सलाई तलब–सुविधा राम्रो छ । त्यस्तै, जर्मनी, अमेरिका, माल्दिभ्स, दुबई, साउदी अरब, कतारलगायत देशमा पनि नेपाली नर्सको आकर्षण छ । वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट जापान, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जाने नर्सले मासिक दुई लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन् । युकेमा त सरकारले नै नर्सिङ जनशक्ति पठाउँदै आएको छ । नेपालमा नर्सलाई न्युन तलब दिइन्छ । जसका कारण अधिकांशको रोजाइ विदेश नै हुने गरेको प्रष्ट छ ।
देशभरका स्वास्थ्य संस्थामा १५ हजार नर्स अभाव देखिन्छ । सन् २०२१ मा स्वास्थ्य मन्त्रालयले गरेको राष्ट्रिय मानव स्रोत रणनीतिक अध्ययन प्रतिवेदनअनुसार साढे ५० हजार नर्स रहेकामा सन् २०३० सम्म ८१ हजार चाहिने प्रक्षेपण छ । तर तीव्र विदेश पलायनका कारण झन् अभाव खड्किने चिन्ता बढ्दो छ । पहिलो कुरा त नेपालमा नर्सिङ जनशक्ति उत्पादन नै कम छ, त्यसमा पनि सेवा–सुविधा कम हुँदा अधिकांश बिदेसिने गरेका छन् । एकातिर ड्युटीको भार, अर्कोतिर आकर्षक तलब सुविधा छैन, आत्मसम्मान र सुरक्षा छैन । ग्रामीण क्षेत्रमा नर्स बन्ने चूनौती अझ गम्भीर छ । यातायात छैन, आवास छैन, बीमा छैन । एक्लै दैनिक दर्जनौ बिरामीको सेवा गर्नुपर्छ, सहायक छैन, उपकरण छैन । अब समयमै उचित र यथोचित तलब सुविधा, सुरक्षित, सम्मानजनक कार्य वातावरण, नीति निर्माणमा नर्सहरूको सहभागिता, ग्रामीण क्षेत्रमा यातायात, आवास र बीमा सुविधा, नर्सको पेशालाई राष्ट्रिय प्रतिष्ठा दिने दीर्घकालीन योजना सरकारले ल्याउने तर्फ पहल र योजना तत्काल अघि बढाउन आवश्यक छ ।