युवा संघ, आन्तरिक प्रतिस्पर्धा र अपेक्षा

सम्पादकीय
राष्ट्रिय युवा संघ, नेकपा एमालेको अगुवा भातृ संगठन । जहाँ १६ वर्षदेखि ४० वर्ष उमेर समूहको हदबन्दी छ । यही उमेर हदबन्दीका कारण केही युवा नेता नेतृत्वको होडबाट स्वतः बाहिरिएका छन् । युवा संघको राष्ट्रिय महाधिवेशन पोखरामा गत शुक्रवारदेखि जारी छ । यो महाधिवेशन ३ दिनको दिन गत आइतवार सकिने कार्यतालिका थियो । तर, सोमवार अबेर सम्म पनि कहिले सकिने टुंगो छैन । नेताहरुले नेतृत्वमा सर्वसम्मतको पहल प्रयास जारी राखे पनि त्यो सम्भव देखिएको छैन । सर्वसम्मतको प्रयास बिफल भए पछि मतदान मार्फत नेतृत्व चयन थालिएको छ । निर्वाचनमा वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीको दुई समूह बिच प्यानलगत उम्मेदवारी परेको छ ।

पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा निर्वाचन प्रक्रिया नै रोकियो । सर्वसम्मतको प्रयास असफल भएपछि आइतबारदेखि अगाडि बढेको थियो । सार्वजनिक निर्वाचन तालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सकेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो भने सोमबार बिहान साढे ७ बजेबाट मतदानमा गइसक्नुपर्ने थियो । यो तालिका यतिकै घर्कियो । देशभरबाट आएका १७ सय प्रतिनिधिहरु बिलखबन्दमा परिरहेका छन् । नेताहरू सहमतिका नाममा, आफ्नो इच्छाइएका उम्मेदवारलाई जिताउन भन्दै होटल र पार्टी प्यालेसमा बसेर प्रतिनिधि फकाउँदै छन् । मनोनयन दर्ता भइसकेपछि पनि नेताहरूले सर्वसम्मतका लागि निर्णय तथा निर्देशन गर्न सक्ने, महाधिवेशनमा प्यानलै मनोनयन भएपछि कसरी अगाडि बढ्ने भन्नेमा अन्यौल व्याप्त देखिन्छ । जसले गर्दा अघिल्ला महाधिवेशनमा जस्तै प्रतिनिधिलाई थकाउने र कतिपय काम विशेषले घर गइसकेपछि नेतृत्वले एउटा घोषणा वा निर्णय सुनाउने संशय समेत देखिन्छ । तर, यसपटक त्यो सम्भावना अध्यक्षका प्रत्यासी सुमन पुरी समूह दृढ अडानमा रहेकाले कम छ । त्यसले संगठन, पार्टी र युवालाई थप विभाजित गर्ने गलत नजीर तर्फ उन्मुख गराउने खतरा हुन्छ ।

राष्ट्रिय युवा संघ कार्यक्रम र गतिविधिका हिसाबले देशका भातृ युवा संघ संगठन भन्दा अगाडि नै देखिन्छ । तर, महाधिवेशन, नेतृत्व चयनमा लोकतान्त्रिक अभ्यासलाई पूर्णतः आत्मसाथ गर्न सकिरहेको छैन । अघिल्लो पटक नेपालगञ्जमा भएको महाधिवेशन पनि ८ दिनसम्म चलेको थियो । अन्तिममा क्षितिज थेबेको नेतृत्वमा सर्वसम्मत चयन भएको थियो । यसपटक पनि मंगलबार सम्म आइपुग्दा पाँचौ दिन भएको छ । युवा संघले यसपटक निर्वाचन मार्फत त्यो पनि प्रविधिमैत्री भोटिङ मेसिनबाट नेतृत्व चयन गर्ने चरणमा छ । यो सकारात्मक कुरा हो तर, एमालेका भातृ संघ संगठनमा पार्टीले निर्वाचन नै गर्न नदिएर महाधिवेशन सकाउने, प्रतिस्पर्धा गर्न निषेध गरेको आरोप छ । युवा संघको महाधिवेशन पनि यही जबरजस्त गलत प्रवृत्तिको निरन्तरता मात्र हुन्छ कि भन्ने भयका बाबजुद राष्ट्रिय युवा संघको महाधिवेशनमा निर्वाचन मार्फत् पनि नेतृत्व छान्ने लोकतान्त्रिक अभ्यास हुँदैछ । यसले पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने छ । लोकतन्त्रमा सर्वसम्मत सुन्दर विकल्प हो, तर सर्वसम्मत हुन सकेन भने निर्वाचन अनिवार्य विकल्प हो । यसमा स्वस्थ प्रतिस्पर्धा मार्फत युवा संघले नेतृत्व चयन गरेर आन्तरिक प्रतिस्पर्धामा निषेध छैन भन्ने सन्देश दिन पनि पोखरा महाधिवेशन महत्वपूर्ण हुनेछ ।

यो पनि पढ्नुहोस्