एमालेमा आन्तरिक लोकतन्त्रको अभ्यास

सम्पादकीय
नेकपा एमालेमा पार्टी र जनसंगठनहरुमा चुनाव नभएको लामै समय भइसकेको थियो । त्यसैले राष्ट्रिय युवा संघको पोखरामा आयोजित पाँचौ राष्ट्रिय महाधिवेशनमा पनि निर्वाचन मार्फत नेतृत्व चयन होला भन्ने सायदै सोचिएको थियो । तर, केन्द्रीय अध्यक्षदेखि इन्चार्ज, पूर्व अध्यक्षहरुको अपेक्षा, निर्देशन र अनुरोध बाबजुद निवर्तमान अध्यक्ष रहेका क्षितिज थेबे र महासचिव सुमन पुरी नेतृत्वको दुई प्यानलबिच कडा चुनाव भयो । अघिल्लो महाधिवेशनमा सर्वसम्मत रुपमा अध्यक्ष बनेका शालिन शैलीका थेबे नेताहरुकै आग्रहमा सर्वसम्मतको उम्मेदवार भएर अगाडि सारिए पनि अन्ततः निर्वाचन लड्नै तयार हुनुप¥यो । उसो त युवा संघको केन्द्रीय उपाध्यक्ष र महासचिव बनिसकेका पुरीका लागि अहिलेको महाधिवेशनमा नेतृत्वको आग्रह र दबाबमा आत्मसमर्पण गर्ने या चुनौती छिचोलेर चुनाव लड्ने दुई विकल्प थियो । त्यसमा पुरी पहिलो सहज र लाचार विकल्पमा लागेनन्, शीर्ष नेतादेखि युवा संघका अधिकांश पूर्व अध्यक्षको साथ नपाउँदा पनि निर्वाचन मार्फत् आफुलाई परीक्षण गर्न अन्तिम सम्म अडिग रहिरहे ।

राष्ट्रिय युवा संघमा यसपटक पनि सर्वसम्मत नै नेतृत्व घोषणा हुने धेरैको अनुमान थियो । शीर्ष नेतृत्वदेखि युवा संघका पूर्व अध्यक्ष, जनसंगठन प्रमुख, इन्चार्जहरुको भाषणले पनि सोही संकेत गरिरहेको थियो । देशभरबाट आएका प्रतिनिधि बिलखबन्दमा थिए । कारण पार्टीका सबैजसो जनसंगठनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिँदै आइएको थियो । त्यसमा पनि अझ प्रतिस्पर्धी आंकाक्षी उम्मेदवारहरुको भावना र चाहना विपरित उम्मेदवार पनि दर्ता गर्न नदिएर सिधै नाम घोषणा समेत गरियो । पछिल्लो नेपालगञ्जमा सम्पन्न प्रेस चौतारी नेपालको महाधिवेशनकै उदाहरण ताजा छ । यसले पार्टी र संगठन भित्र असन्तुष्टि र आक्रोश चुलिए पनि खुलमखुल्ला भन्ने आँट भने निकै कम नेता, कार्यकर्ताले गरिरहेका छन् । यसपटक युवा संघमा अध्यक्षका प्रत्यासी रहेका सुमन पुरीले सिंगो संगठनलाई चुनावमा जबरजस्त लगेर आन्तरिक प्रतिस्पर्धाको मार्ग प्रशस्त गरेका छन् । भलै उनले निर्वाचनमा पराजय बेहोरेका छन्, राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबे पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन् । निर्वाचनबाट सबैजसो पदाधिकारी, सदस्यमा पनि उनकै प्यानलको जित भएको छ । उसो त पुरीले शीर्ष नेताहरुको साथ समर्थन अपेक्षित रुपमा नपाउँदा पनि आफ्नै बलबुतामा सम्मानजनक मत प्राप्त गरेका छन् । एक किसिमले भन्दा संस्थापन पक्षलाई कडा चुनौती पेश गरेका छन् । यो हिसाबले उनको जित पनि हो ।

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । सके सम्म सर्वसम्मत विकल्प उत्तम हो । तर, सर्वसम्मत चयन हुने विकल्प सफल नभए पछि निर्वाचन अपरिहार्य थियो । निर्वाचनले संगठनलाई चलायमान गतिशील बनाउँछ । उसो त हामीकहाँ हुने निर्वाचन अत्यन्त निर्मम पनि हुन्छ । एक व्यक्तिले अर्को व्यक्ति, एक समूहले अर्को समूहलाई पराजित गर्न या किनारा लगाउन गरिने अनेक हठकन्डाले निर्वाचनलाई प्रदुषित पनि तुल्याउँछ । तर, राष्ट्रिय युवा संघले यसपटक एकाध पक्षलाई छोडेर हेर्ने हो भने जे जसरी निर्वाचन मार्फत् नेतृत्व चयन गरेको छ । यो अत्यन्त सह्रानीय र सकारात्मक छ । यसले भोलिका दिनमा पार्टी भित्रको प्रतिस्पर्धा, लोकतन्त्र संकुचनमा परेको आरोप तिब्र आइरहेका बेला आन्तरिक प्रतिस्पर्धाको मार्ग फराकिलो बनाएको छ । एमाले भित्र भातृ संगठनहरुमा निर्वाचन मार्फत पनि नेतृत्व चयन हुन्छन्, गरिन्छन् भन्ने गतिलो सन्देश युवा संघको पोखरा महाधिवेशनले दिएको छ । सर्वसम्मत अध्यक्ष बनेर संगठानत्मक र सिर्जनशील कार्य गरेर पृथक पहिचान बनाएका थेबेले यसपटक निर्वाचनबाट अध्यक्ष बने पछि अझ थप कार्य गर्नुपर्ने चुनौती छ । यस यात्रामा थेबे र उनको समितिको कार्यकाल सफल रहोस् । हार्दिक बधाई तथा शुभकामना ।

यो पनि पढ्नुहोस्