सम्पादकीय
नेपाली समाजमा अमेरिकी सपना यस्तो बनिसकेको थियो कि जहाँ पुग्नु नेपालीको सर्वोत्तम सफलता हो भन्ने आम रुपमा परिसकेको थियो वा समय, परिवेश र परिस्थितिले यस्तो जबरजस्त भाष्य बनाइसकेको थियो । यही होडमा वैधानिक बाटोबाट अमेरिका जानेहरु त थिए नै, त्यो भन्दा कैयन गुणा हिँडेर बिभिन्न देश छिचोल्दै अमेरिका जानेहरुको होड नै चल्यो । यसरी हिँडेर गएकाहरुले अमेरिका पुगेर कैयनले आफ्नो र परिवारको जीवनमा चामत्कारिक बदलाव पनि ल्याए । तर, पछिल्लो समय अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लािग निर्वाचित भएर आए सँगै आप्रवासीहरु प्रति निकै आक्रामक देखिएका मात्र छैनन्, अवैध रुपमा प्रवेश गरेका नागरिकलाई तत् तत् देश नै डिपोर्ट गरेर पठाइरहेका छन् । जसमा नेपालीहरु पनि परेका छन् । आइतवार मात्र अमेरिकाबाट ३७ जना नेपाली डिपोर्ट गरिएका छन् ।
लाखौं रुपैयाँ खर्चेर अमेरिका पुगेका उनीहरु केबल खाली हात फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपालीहरु हातमा बोरा बोकेर फर्किदै गरेको दृश्य देख्दा मन कटक्क हुन्छ । अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले चार्टर्ड विमानमार्फत् पछिल्लो पटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली आइतवार राति फर्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरु माथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधि भन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् । ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
अमेरिकी सपना मुलुकमा व्याप्त बेथिति, बेरोजगार र अस्थिरताको उपज हो । अमेरिका जाने भने पछि यो समाजले जति पनि ऋण दिन्छ । आफ्नै समाज देशमा केही गर्छु भन्यो भने पत्याउदैन । अनि दलाल मार्फत् लाखौं रकम ऋणधन गरेर वैध अवैध बाटोबाट अमेरिका जसरी पनि पुग्ने सपना देख्ने युवाहरुको जमात बाक्लो छ । तर, पछिल्लो घटनाले धेरै नेपालीलाई सोचनीय बनाइरहेको छ । एक त अमेरिकी सपना देख्नेहरुलाई विकल्प सोच्न उद्दत गराएको छ भने गएर डिपोर्ट पश्चात फर्किएकाहरुको समाजमा पुर्नस्थापित हुने चुनौती पनि गम्भीर देखिन्छ । यसको मुख्यः जवाफदेही लिनु पर्ने राज्य र यसका निकाय भने अझै पनि बेखबर जस्तो छ । अवैध बाटोबाट हजारौं युवा कसरी अमेरिका पुगे ? यसमा खासै चासो र ध्यान छैन । दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्ने र डिपोर्ट भएर फर्केकाहरु पनि न उजुरी न गुनासो गर्ने लाचार अवस्थामा छन् । यसबारे अनुसन्धान गर्ने मानव बेचबिखन नियन्त्रण ब्युरो छ । तर,दलाल विरुद्ध कसैले उजुरी नदिएकाले समस्या भएको बताउँछ । अब यसमा मिहिन ढंगले अनुसन्धान गर्ने र अवैध बाटोबाट अमेरिका लगायतका देशमा जाने कार्यलाई पूर्णतः नियन्त्रण गरिनु पर्छ । र सम्भव भए सके सम्म देशमै रोजगार स्वरोजगारको वातावरण बनाउने र सम्भव नभए वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरकार र यसका निकायले तत्काल कदम चाल्नुपर्छ ।