शुभेक्षा पन्त
सुन सखी! सम्झिन्छ्यौ त
गाउँकै कान्छीलाई?
जसले अक्षर चिन्ने रहर गरेकी थिई,
तर गाउँले भनिदियो –
“छोरीलाई पढ्नुपर्दैन, खाना बनाउन भाँडा माझ्न, लुगाफाटो धुन जाने पुगिहाल्छ नि!”
सम्झन्छ्यौ त,
त्यही त कान्छी,
जसले सिउँदोको सिन्दूर पखाल्दै,
घरको साँघुरो आँगनबाट निस्केकी थिई?
जसले न्यायका लागि लड्दै
अधिकारका पाना पल्टाइरहेकी थिई!
हेर, आज ऊ
अरु नारीहरूको आवाज बनेकी छ!
ऊ भन्छे –
“नारीलाई आवाज चाहिन्छ, अवसर चाहिन्छ,
समान हक, समान बाटो,
र उड्नलाई खुला आकाश चाहिन्छ!”
अब समय बदलियो छ
अब छोरीहरू जन्मिँदा
घरमा खुसीको घन्कार गुञ्जिन्छ,
स्कूलको ढोका, भर्खर फोडेका कोपिलाहरूका लागि
सधैं खुला रहन्छ!
अब यौन हिंसा सहने चुपचाप चहराइ रहन्न,
अब जबर्जस्ती बालविवाहले सपना तोड्दैन,
अब कान्छिहरूको हातमा किताब हुन्छ,
अनि, संसार बदल्ने साहस पनि!
नारी दिवस तिम्रो, मेरो, हाम्रै कथा हो,
अधिकार, समानता लडेर जित्नु हो,
सशक्तिकरणको पर्खाल ठड्याउने हो,
हरेक चेलीको सपना
पुरा गराउने हो!
तर सखी!
अझै कतै, कुनामा, अँध्यारोमा
कसैकी छोरी, कसैकी आमा
हिंसाको पीडा लुकाइरहेकी छिन्,
अधिकारका अक्षरहरू बुझ्न नसकेर
चुपचाप सहिरहेकी छिन्!
तिनका लागि हामी बोल्नुपर्छ,
समाजलाई बदल्नुपर्छ,
सशक्तिकरण भाषणमा होइन,
समानता आश्वासनमा होइन,
सम्भावनाहरू खुलाउने काममा हुनुपर्छ!
हाम्रा संघर्षले ल्याउनुपर्छ!
नारी दिवस एउटा उत्सव मात्र होइन,
नयाँ बिहानको सुरुवात हो,
समान हकको प्रतिबद्धता हो ।
यो दिवसमा मात्र सिमित बन्नुहुदैन यथार्थमा बदलिनु पर्दछ ।एक दिनको दिवसमा तामदाम आवाज होइन अरु ३६४ दिनको आवाज हुनुपर्छ कान्छी !