दोवा, भुरुङ, दाना, नारच्याङ, शिख, घारा, हिस्तान र राम्चे गाविस मिलेर बनेको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका पहिले घरमै सुत्केरी हुनेदेखि बालबालिकाले पूर्ण खोप नपाउने पालिकाको रुपमा परिचित थियो । तर, संघियता पश्चात गाउँपालिका स्थापनासंगै स्वास्थ्य शाखा र स्वास्थ्य चौकी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको मेहनतले गर्दा पूर्ण खोप सुनिश्चितताका साथै शुन्य होमडेलिभरी (घरमा शून्य सुत्केरी) हुने पालिकाको रुपमा परिवर्तन भएको छ । यसै सन्दर्भमा अमृत बास्कुनेले अन्नपूर्ण गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख समुन्द्र बरुवालसँग गरिएको कुराकानी ।
पूर्ण खोप सुनिश्चतता तथा दिगोपना गाउँपालिका प्रमाणिकरण घोषणा भएको छ यसका सन्दर्भमा केही बताइदिनुस् न ?
प्रश्नका लागि धन्यवाद । नेपालमा विकेन्द्रिकृत संघीय शासनको कोसेढुङ्गाको रुपमा रहेको नेपालको संविधान, २०७२ र स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहमा अधिकार सहितको स्थानीय शासनको परिकल्पना गरे बमोजिम हाल नेपालमा ७ प्रदेश कायम छन् । मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ वट स्थानीय तह कायम भई जनताको अधिकार जनताकै घरदैलोमा पुगेको स्थिति छ । सोही अनुसार स्थापित एक गाउँपालिका हो हाम्रो यस अन्नपूर्ण गाउँपालिका । नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्लाको रूपमा रहेको म्याग्दी जिल्लामा अवस्थित अन्नपुर्ण गाउँपालिका सदरमुकाम बेनी देखि करिब २० किमिको दुरीमा पर्छ । अन्नपूर्ण हिमालको नामबाट अन्नपूर्ण गाउँपालिकाको नामाकरण गरिएको हो । हामीले हरेक वर्ष वडा देखि शुरु गरेर पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने गरेका छौं र यस वर्ष पनि गरि सकिएको छ । मुलुकलाइ नै पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि टोल हुँदै सुरु भएर वडा तथा पालिका, जिल्ला प्रदेश र देश घोषणा गर्ने भएकाले नै यो निकै महत्वपूर्ण छ र हामीले हरेक वर्ष गर्ने गरेका छौं ।
भौगोलिक अवस्था र यहाँको जनसंख्याका साथै स्वास्थ्यमा जनताको चासो के कस्तो छ ?
२०७८ सालको जनगणना अनुसार १२ हजार तीन सय २३ जनसंख्या रहेको छ । जसमा पुरुष छ हजार दुई सय ३७ र महिला छ हजार ६८ रहेका छन । गाउँपालिकाको अवस्थाको बारेमा जानकारी दिनु पर्दा १६ सदस्यीय कार्यपालिका र ४४ सदस्यीय गाउँ सभाका सदस्यहरु रहेका छन् । ऐतिहासिक धार्मिक सास्कृतिक पर्यटकीय हरेक दृष्टिकोणले अथाहा संभावना बोकेको अन्नपूर्ण गाउँपालिका भित्र नेपालकै प्रमुख नदि कालिगण्डकी, मिस्त्री खोला यही पालिका हुँदै बग्छन् । मगर, क्षेत्री, नेवार, थकाली, गुरुङ, ब्राह्मण, गीरी, दलित लगायतका जातिको बसोबास रहेको छ । स्वास्थ्यको हिसाबले हेर्ने हो भने यहाँका जनताले निकै चासो दिन्छन् । यही चासोकै कारणले त हामीले पूर्णखोप सुनिश्चितता घोषणा गर्न सकेक छौं । यहाँका जनताले आफ्नो सन्तालाई नियमिख खोप लगाउने, गर्भवती जाँच गर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुने जस्ता कार्यहरु यहाँका जनताहरुले चासोका साथ गर्ने गर्नुहुन्छ । साथै जनतालाई सघाउनका लागि यहाँका स्वास्थ्य चौकीका तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।
अन्नपूर्ण गाउँपालिका भित्रको स्वास्थ्य संस्थाहरुको अवस्था र जनतालाई सेवा दिन के कस्तो कार्य गर्ने गरिएको छ ?
यस गाउँपालिका अन्तर्गत ८ वटा वडाहरु रहेकोमा ८ वटा स्वास्थ्य चौकी चौकी, ५ वटा सामुदायिक स्वास्थ्य इकाई, २० वटा खोप केन्द्र, १० वटा गाउँघर क्लिनिक र ७२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा एउटा आर्युवेद औषधालय मार्फत अनवरत रुपमा स्वासथ्य सेवा प्रवाह भईरहेको छ । हामीले नेपालको खोपको इतिहास तर्फ हेर्ने हो भने पनि महत्वपूर्ण छ र यहाँको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको भूमिका पनि अतुलनियनै छ । नेपालमा खोप कार्यक्रम जंग बहादुर राणाका पालामा बेलायतबाट डाक्टरहरु झिकाएरु राणा परिवारलाई विफर विरुद्धको खोप प्रदान गरेको भन्ने भेटिन्छ । वि.सं. २०२२ मा विफर उन्मूलन आयोजना शुरु भई विफर विरुद्धको खोप सेवा प्रदान गरी २०३४ सालमा विफर उन्मुलन भएपछि विस्तारित खोप आयोजनाका रुपमा ४ वटा एन्टिजेन विसिजि र डिपिटी सहित खोप सेवा धनुषा, रुपन्देही र सिन्धुपाल्चोक गरी ३ जिल्लाबाट सुरु भई हाल १४ वटा एन्टिजेनको विरुद्धमा देशभरीका करिब १६ हजार खोप केन्द्र तथा १७ हजार खोप सेसेनहरुबाट राप सेवा प्रदान गरिदै आएको स्थिति छ । राज्यको अभियानलाई सफल पार्न हामीहरुले पनि सक्दो प्रयास गरि रहेका छौं । हाल एक जना बच्चालाई सम्पूर्ण खोपहरु लगाउँदा करिब ४० हजार रुपैयाँ राज्यको खर्च हुने गरेको यथार्थलाई मनन गरेरै हामीले पूर्ण प्रभावकारी तबरले काम गरी रहेका छौं ।
यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको लागि के कस्ता कार्यक्रमहरु भए र अहिलेसम्म भए गरेका कामहरु के के थिए ?
म्याग्दी जिल्लामा वि.सं. २०६९ सालमा पूर्ण खोप घोषणा गर्ने अभिमुखीकरणबाट सुरु भएको पूर्ण खोप अभियान २०७०।०३।३१ गते साबिकको घतान गाविसबाट सुरु भएको थियो । उक्त अभियान हालसम्म पनि चलि रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा अन्नपूर्ण गाउँपालिकाको पहिलो बडाको रुपमा १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चतता सहित गत चैत्र २२ गते ५ नम्बर वडा २५ गते ४ नं. वडा, २६ गते १ नं. वडा, २७ गते ३ नं वडा, २८ गते २ नं. वडा, २९ गते ६ नं. वडा, बैशाख २ गते ८ नम्बर वडा र बैशाख ५ गते ७ नं वडा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । सबै वडालाई पूर्ण खोप घोषणा भै सकेपछि बैशाख १९ गते अन्नपूर्ण गाउँपालिकिालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
मातृ तथा बाल मृत्यु दर तथा होमडेलिभरीको अवस्था अन्नपूर्ण गाउँपालिकामा के कस्तो रहेको छ ।
भौगोलिक हिसाबले निकै जटिल भुगोल भएको गाउँपालिका पर्दछ अन्नपूर्ण गाउँपालिका । यहाँ जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुका साथै दुरदराजका भुगोलमा तथा गोठहरुमा बस्ने मानिसहरुको लगत पनि हामीले संकलन गर्ने गरेका छौं । विगतमा घरमै सुत्केरी हुने संख्या अन्नपूर्णमा पनि थियो तर हामीहरुले गरेको मेहनत र काउन्सेलिङले गर्दा नियमित स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य संस्थामै सुत्केरीहुने गर्न थालेका छन् । अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा हाम्रो पालिका भित्र कुनै पनि महिलाहरुले घरमा बच्चा जन्माउनु भएको छैन् । पछिल्लो दुई वर्ष देखि हाम्रो पालिका शुन्य होमडेलिभरी पालिका हो । यसलाई निरन्तरता दिनका लागि नै हामीले मेहनत गर्दै छौं । पूर्णखोप सुनिश्चितता तथा दिगोपना जस्तै गरेर हामी शुन्य होमडेलिभरीको दिगोपना कायमका लागि हरदम प्रयास गर्ने छौं । यस कार्यमा सफताका लागि स्वास्थ्य संस्थामा कर्यारत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको भूमिका महत्वपूर्ण हुन्छ र त्यस कार्यकै लागि हामीले पनि प्रयास जारी राख्ने छौं ।