१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाउने निसीखोलाका ७५ वर्षीय वृद्ध पक्राउ

आदर्श अनलाइन, बागलुङ
१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ५ गते बलात्कार गरि बालिकालाई गर्भवती बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोला गाउँपालिका वडा नम्बर १ का ७५ वर्षीय जगलाल विकलाई पक्राउ गरेको हो ।

जेठ २५ गते स्वास्थ्यमा समस्या आएपछि प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार गर्न पुगेकी बालिका स्वास्थ्य परिक्षणको क्रममा गर्भवती भएको पुष्टी भएपछि सोधपुछ गर्दै जाँदा बलात्कारमा परेको खुलेको थियो । पीडित बालिकाको परिवारले आरोपित विक विरुद्ध जेठ ३१ गते प्रहरीमा उजुरी दिएका थिए ।

घरमा कोही नभएको समयमा डर धम्की देखाएर बलात्कार गरेका विकले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको पीडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् ।

बालिकाको जेठ ३१ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्