पत्रकार रजक मृत्यु प्रकरण : बागलुङका पत्रकारको विरोधसभा


आदर्श सञ्चार, बागलुङ
प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको रक्षा र पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै आज बागलुङका पत्रकारले विरोध सभा आयोजना गरेका छन् ।

शुक्रबार राजावादीहरुले काठमाण्डांैमा आयोजना गरेको आन्दोलनका क्रममा पत्रकारको आगजनी गरेर हत्या भएको पत्रकार महासंघको ठहर छ । ७० औं स्थापना दिवसको कार्यक्रम स्थगित गरेर जिल्लाका पत्रकारले लोकतान्त्रिक चोकमा विरोध कार्यक्रम आयोजना गरेका थिए ।

पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयबाट प्लेकार्ड सहित थालिएको ¥याली बजार परिकर्मा गरेर लोकतान्त्रिक चोकमा विरोधसभा आयोजना गरिएको छ ।

विरोध सभामा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले आन्दोलनको विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।

आन्दोलनमा मारिएका पत्रकारको न्याय र दोषीलाई कार्वाहीको माग गर्दै केन्द्रीय कार्यक्रम अन्र्तगत जिल्लामा विरोध सभा मनाइएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, प्रगतिशिल पत्रकार संघका केन्द्रीय सचिव तारा प्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विरोधसभा कार्यक्रमको पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्