सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार

डम्मर बुढा मगर, बागलुङ
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारल मात्रै सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरि १३ नाउर, १० झारल र १२ बँदेल गरि ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।

सिकार खेल्नका लागि हिमालयन वाईल्डलाईफ आउटफिर्टस प्रा.लि, ट्रयाक्स एण्ड ट्रेल्स प्रा.लि., हिमालयन सफारिज प्रा.लि., ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाईल्डलाईफ सफारिज गरि छ वटा कम्पनीले अनुमति पाएका थिए । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडी लगायतका ब्लकगमा पुगेका थिए ।

फागुन २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए । सिकारीहरुले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार नभएको उहाँको भनाइ छ ।

दोस्रो याम (फागुन–बैशाख) का लागि बैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । उहाँका अनुसार हिमालयन वाईल्डलाईफ आउटफिर्टस काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो । यो कम्पनीले एउटा नाउर सिकार र एउटा झारल मात्रै सिकार गरेको छ ।

ट्रयाक्स एण्ड ट्रेल्स प्रा.लिमार्फत अमेरिकन सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएकोमा सबै वन्यजन्तुको सिकार गरेको सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार हिमालयन सफारिज प्रा.लि.काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएका थिए । जसमा तीन नाउर र एक झारल मात्रै सिकार गरेका छन् ।

ग्लोबल सफारिज नेपाल प्रा.लि.मार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए । त्यस मध्ये दुई नाउर र एक झारलको सिकार गरेको रेन्जर सुवेदी बताउनुहुन्छ । नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि.मार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका थिए । त्यस मध्ये दुई वटा नाउर मात्रै सिकार गरेको उहाँले जानकारी दिनुभयो ।

ओपन नेपाल वाईल्डलाईफ सफारि एण्ड ट्रेक्स प्रा.लि.मार्फ तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएकोमा एक नाउर र दुई झारलको सिकार गरेको उहाँले बताउनुभयो । दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, प्रान्सबाट सिकारी आएको सुवेदीले जानकारी दिनुभयो । ढोरपाटनमा हरेक वर्ष (असोज–मंसिर) पहिलो र (फागुन–बैशाख) दोस्रो याममा सिकार हुने गर्छ ।

यो पनि पढ्नुहोस्